म वरिपरि एक्कासी मान्छेहरू झुम्मिए। सबैले ठूलाठूला आँखा गरेर हेरिरहेका थिए।
यस्ता कुलंगारलाई त जिउँदै जलाउनु पर्ने।’
‘कस्ता कस्ता जन्मिन्छन् नि!’
‘यस्तालाई जन्मदिने बाउ आमा कस्ता होलान्।’
ठूलो स्वरमा कराउँदै मान्छेहरूले मलाई घेरे। कठालो समाउँदै सडक छेउमा ल्याए। कतिजनाले कुट्न थाले।
के भएको सोच्न नपाउँदै कुटाइको दुखाइले म बेहोस भएँ।
बेहोसीबाट उठ्दा पुलिस चौकीमा आँखा तरेर मलाई घुरिरहेका केही पुलिसको अगाडि थिएँ म।
‘किन त्यस्तो गरिस्? भन…।’ अपशब्द बोल्दै एउटा ताराको फुली लगाएको कड्कियो।
मैले हात जोड्दै भनें ‘के गरें र सर मैले?’
‘के गरें रे? अझ नाटक गर्छस् साले?’ अघिको अपशब्दको अगाडि सामान्य लाग्यो।
‘तेरो छिमेकमा बस्ने केटीलाई ललाइफकाई गरेर जबर्जस्ती गरेको हो कि हैन भन’ उसले भन्यो।
अर्धचेतन अवस्थामा भए पनि कुरा बुझें। किन त्यतिका मान्छेले कुटे। किन पुलिस चौकीमा आइपुगें भनेर।
‘म डेरामा मास्टर पढ्दै छु सर। ती बहिनी प्लस टू पढ्छिन्।गणित जान्दिन भनेर सिक्न आउँछिन् कहिलेकाहिँ। अस्तिको दिन तपाईं मलाई साह्रै मन पर्छ भनेर भनिन्। मैले अहिले तिम्रो पढ्ने बेला हो भनेर सम्झाएर पठाएको थिएँ। त्यसपछि उसलाई देखेको छैन।’ मैले सविस्तार भनें।
ती केटीलाई बोलाएर पुलिसले सोधे ‘अनि किन मैले प्रस्ताव राख्दा स्वीकार नगर्नु त? कति धेरै माया गर्थें म उहाँलाई। त्यसैले बाबालाई मैले यस्तो भनें।’
यति सुनेपछि पुलिसहरु मतिर मायाको दृष्टिले हेरिरहेका थिए।उनको मायाको रूप मेरो रगत लत्पतिएको शरीरमा कोठाको एउटा कुनामा थियो।
–कन्चनरुप नगरपालिका, सप्तरी