दसैं आयो साथी
अनि तिम्रो सम्झना ताजा भएर आउँदै छ मनमा
झन् मालश्रीको धुन सुन्दा त
भक्कानो नै फुट्ला जस्तो भएको छ यहाँ।
सम्झँदै छु यति बेला
रातभरि चामल चिउरालाई ढिकीजाँतो गरेको
बिर्सेको छैन
दसैंलाई भनी घरबारी नजिकै
घाँस दाउरा साँचेको।
गाउँले भाकामा रत्तिंदै
गोरेटेको छेउभित्तो खुर्केको
कहाँ बिर्सेको छु र साथी
चुच्चेढुंगा छेउमा
घाँटी घाँटी डुब्दा पनि हाँसेका थियौं
माइखोलाको बाढी तर्न तम्सिँदा हामी।
भुलेको छैन मैले
दार्मेढुंगामा चढेर सेलरोटी खाएको
अपुंगोको मरिचे स्वाद त झन्
जिब्रामै छ अहिले पनि।
यो साल त्यस्तै पर्यो साथी
सकिन दसैंमा घर आउन।
सँगै जाउँला श्रीअन्तु अनि सिद्धिथुम्का
घामको झुल्को हेर्नलाई अर्को साल
बान्द्रेको पाखाभरि भिमसेनपाती मगमगाएको होला
उसको बास्नाले पिरोल्छ मलाई
यसपालि निष्ठुरी भएको छ भन्दिनु।