दसैँ आयो तिहारै आयो खै मलाई के आयो
जे लाए पनि जे खाए पनि आमालाई सम्झायो
तोरी नि फुल्यो पहेलो भयो पाखा र पखेरो
लिपेउ नि होला पिँढी र आँगन उठेर सबेरो
नाग्ला भरी सयपत्री फूल गाईपूजा गर्नलाई
बाँधेउ नि होला पुच्छरमा डोरो बैतर्नी तर्नलाई
जमरा टीका तयार पारी मलाई खोज्दी हौ
आउँछ छोरा यसपाली भनी कुरेर बस्दी हौ
गाउँको पिङ सम्झेर म नि खाटमै मच्याछु
नसक्छु आउन नसक्छु बस्न यसरी थच्याछु
वर्षौं भयो देखेकी छैनौ ती नाती नातिना
भन्छ्यौ आमा नदेखी तीनलाई म मर्दै मर्दिन
धानको बाला झुलेको होला ढुस्सुको फाँटैमा
बचन दिएँ लिएर आउँछु यसपाली साथैमा
पकाइ राख सेल रोटी आमा स्वादले खाऊँला
काँक्रोको खल्पी बनाइ राख गहतको बिरौंला
थापेर टीका दसैँको दिन मासु भात खाऊँला
राखेर शिर पाउमा तिम्रो म स्वर्ग पाऊँला
मखमली फूलको गाँसेर माला मेरै बाटो हेरी
ढोकाछेउ बसी रुँदै हुन बहिनी ओखरै नफोरी
नवरङ्गी टीका, दुबो र माला सम्झेर बस्याछु
बहिनीलाई दिन कोसेली भनी आइफोन किन्याछु
दसैँ र तिहार निधार खाली मन रुन्छ धुरुरु
देउसी र भैलो खेलेको सम्झी म हुन्छु फुरुरु
रोएर आमा नभिजाउ चोली मै फर्की आउँछु
बिर्सेको छैन देउसी र भैलो आज नि गाउँदैछु
दसैँ आयो तिहार आयो हट्यो हिलो मैलो
मिलेर गाऊँ हे औंसी बारो गाई तिहारो भैलो
-वेस्टपाम बिच, फ्लोरिडा