काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो। अन्जन विष्टको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो। अन्जन मस्ट भ्यालुएबल प्लेयर घोषित भए।

बंगलादेशका सजाद होसेनले एक गोल फर्काए।  सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो। सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो। गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए।

खेलको १८ औं मिनेटमा पेनाल्टी बक्सको नजिकबाट बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिएको थियो। नेपालले खेलको १८ औं मिनेटमा अन्जनको  गोलबाट सुरुआती बनाएको थियो। विमल मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन्।

२६ औं मिनेटमा बंगलादेशका साजाद होसेनको प्रहार नेपालका गोलकिपर किरणले बचाए। २७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए। विमलले उपलब्ध गराएको बलमा तेज तामाङले प्रहार गरेको बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले पन्च गर्दै बाहिर फाले। त्यहिँ रिबाउन्ड बलमा अन्जनले उत्कृष्ट फिनिस गर्दै पोस्टको जाली चुमाए।

३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए। नुतुनले विमललाई फउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो। जसमा विशाल राईको फ्रिकिकमा अन्जनले हेडमार्फत उत्कृष्ट गोल गरे।

यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन्। राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो।

यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्। खेलको ५६ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३-१ को स्थितिमा ल्याए। रोहित चन्दलाई बिट गर्दै रकिब होसेनले उपलब्ध गराएको क्रसमा सजादले हेडमार्फत गोल गरे ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३-१ ले विजयी भयो। नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो।

42
Shares
११ आश्विन २०७९, मंगलवार २२:३९