विराटनगर । ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा धरान भेट्रान क्लब र आयोजक क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। मंगलबारको पहिलो खेलमा धरानले सिरहाको लहान भेट्रान क्लबलाई टाइब्रेकरमा ५–३ गोल फरकमा हराउँदै सेमिफाइनलमा पुगेको हो।

निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा गएको हो।

धरानका सुजितकुमार राई, सतिश केसी, सन्तोष लिम्बू, विवश राना मगर र राजकुमार राईले गोल गर्दै टोलीलाई विजयी बनाए।

लहानका सजकुमार आले, श्यामसुन्दर सिंह र सन्तोषकुमार चौधरीले गोल गरे भने मुरलीकान्त चौधरी गोल गर्न चुके।

खेलको ९ औं मिनेटमा धरानका सुजितकुमार राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। लहानका लागि ३१ औं मिनेटमा सुरेशकुमार चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको म्यान अफ द म्याच धरानका सुजितकुमार राई भए।

दोस्रो खेलमा आयोजकले पाहुना टोली इटहरीको जनता भेट्रान क्लबलाई १–० गोल अन्तरमा हराउँदै सेमिफाइनलमा पुगेको हो।

खेलको एकमात्र निर्णायक गोल ४२ औं मिनेटमा डेनिम राईले गरेका थिए। उनी खेलको म्यान अफ द म्याच भए।

सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबार झापा दमकको दमक–लखनपुर भेट्रान क्लब र विराटनगर हाटखोलाको मर्निङ भेट्रान क्लबबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु