विराटनगर । लागूपदार्थ खाएर सार्वजनिक सवारी साधन चलाउने चालकहरुमाथि प्रहरीले निगरानी सुरु गरेको छ। चालकले ‘लापसे’ (लागूपदार्थ सेवन) गरेका छन् कि छैनन् भन्ने थाहा पाउन मंगलबारदेखि परीक्षण गर्न थालिएको हो।
ट्राफिक प्रहरीले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर प्रदेश १ मा पहिलोपटक विराटनगरबाट जाँच सुरु गरेको जनाएको छ।
सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर जाँच सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
जाँचबाट चालक, सहचालक तथा परिचालकले लागुऔषध सेवन गरे/नगरेको पत्ता लाग्ने कार्कीले बताए। ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ। जाँचमार्फत सवारी चालकले मापसे गरे/नगरेको पत्ता लगाउने गरिन्छ।
ट्राफिक प्रमुख कार्कीले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । पछिल्लो समय मापसे छाडेर चालकलगायत यातायात कर्मचारीले लागूपदार्थ सेवन गर्ने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो। लागूपदार्थ सेवन गरी गाडी चलाउँदा दुर्घटनाहरु बढेको प्रहरीको बुझाइ छ।
लागूपदार्थ सेवन गरेको पत्ता लगाउन एक प्रकारको किटको प्रयोग गर्ने गरिएको छ। त्यस्तो किट प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको छ। विराटनगरपछि अन्यत्र पनि यस्तो निगरानी र जाँच अभियान सुरु हुने जनाइएको छ।
किटमा सम्बन्धित व्यक्तिको पिसाब मिसाएर जाँच गर्दा लागूऔषध सेवन गरे/नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ। त्यसरी जााच गर्दा कुन प्रकारको सेवन गरेको हो भन्नेसमेत थाहा पाइने प्रहरीको भनाइ छ।
पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ। प्रहरीका अनुसार एउटा मात्रै धर्का देखाए लागूऔषध सेवन गरेको यकिन हुन्छ । यस्तो अवस्थामा परीक्षणको रिपोर्ट ‘पोजिटिभ’ आयो भन्ने बुझिन्छ।
चालकलगायत सवारी साधनका कर्मचारीले लागूपदार्थ सेवन गरे, नगरेको जाँच गर्ने किट।
दुईवटा राता धर्का देखिएको अवस्थामा भने लागूऔषध सेवन नगरेको प्रष्ट हुने प्रहरीले जनायो। यसरी परीक्षण गर्दा चार दिन अघिसम्मको लागूऔषध सेवन गरेको पत्ता लाग्छ।
जाँचका क्रममा एकजनाले लागूपदार्थ सेवन गरेर बस चलाएको पाइएपछि पक्राउ गरिएको छ। मे१ख ३०८९ नम्बरको बसका चालक सुनसरीको इटहरीका २३ वर्षीय शौरभ लाखेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
उनीविरुद्ध लागूऔषध सेवनमा मुद्दा चलाउने तयारी प्रहरीको छ। जाँचका क्रममा उनले गाँजा र ब्राउन सुगर सेवन गरेको पत्ता लागेको छ ।
प्रहरीको यो नयाँ अभियानले निरन्तरता पाउन केही चुनौती देखिएका छन्। जाँचमा प्रयोग गरिने किट महँगो पर्ने भएकाले निरन्तरता दिनलाई गाह्रो पर्ने प्रहरी स्रोतले बतायो।
एउटा किटको १ हजार रूपैयाँभन्दा बढी पर्छ। त्यसलाई एकपटक मात्र परीक्षणमा प्रयोग गर्न मिल्छ।