इलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की।

विराटनगर । मोरङको बेलबारीमा प्रहरीका लागि नयाँ भवन निर्माण गरिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीको भवन २ करोड २९ लाख रूपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको हो।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरेका छन्। जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको प्रहरी सुरक्षित भयो भने मात्र नागरिक सुरक्षित हुने कार्कीले बताए। प्रहरीले प्रयोग गर्ने संरचनालाई सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार तयार रहेको उनको भनाइ छ।

हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैँमा असुरक्षित रहन नहुने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। आफू सुरक्षित भए मात्रै प्रहरीले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने दाहालको भनाइ छ । सरकारले प्रहरीको गाँस, बास र कपासमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ।

भौतिक सुविधा सम्पन्न संरचनाले २४ घण्टा नै ड्युटीमा खटिने प्रहरीको मनोबल बढाउने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले बताए। कार्यक्षेत्रमा हौशला प्रदान हुँदा प्रहरीको काम कारबाही चुस्त, दुरुस्त हुने उनको भनाइ छ। डीआईजी गिरीले जोश र उर्जाका साथ अहोरात्र नागरिकको सुरक्षामा खटिन प्रहरीलाई निर्देशनसमेत दिएका छन्।

भवन निर्माणमा २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैयाँ खर्च भएको छ। सुविधा सम्पन्न भवन साढे २ तलाको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार भवनमा शौचालयसहितको थुनुवा कक्ष दुईवटा, कार्यालय प्रमुखको कक्ष, मिटिङ हल, भण्डार, सञ्चार, निवास छन्।

शौचालय र बाथरुम ३ वटा छन्। भवनमा शौचालय र बाथरुमबाहेक १० वटा कोठा रहेको प्रहरी निरीक्षक धमलाले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु