विराटनगर । प्रदेश १ का पर्यटकीय स्थलहरुबारे विस्तृत जानकारी दिने उद्देश्यले विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ।

प्रदेश १ का प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई प्रमुख गन्तव्यबारे जानकारी दिने, होटल र ट्राभल्स लगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने काम केन्द्रमा हुने जनाइएको छ।

पर्यटकीय क्षेत्र र तीसँग सम्बन्धित विस्तृत सूचनाहरु केन्द्रले उपलब्ध गराउने छ। महासंघ प्रदेश १ समितिको पहलमा पर्यटन व्यवसायी एवं सरोकारवालाहरुको सक्रियतामा केन्द्र स्थापना गरिएको हो।

महासंघको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत सूचना केन्द्र स्थापना गरिएको जनाइएको छ ।

उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर १ समितिको बरगाछीस्थित कार्यालयमा उक्त केन्द्र राखिएको छ । मंगलबार महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले केन्द्रको उद्घाटन गरे ।

उपाध्यक्ष राउतले इलामको पशुपतिनगर र झापाको विर्तामोडमा सूचना केन्द्र स्थापना भए पनि विराटनगरको रानी नाकामा पर्यटन डेस्क स्थापना नभएकाले त्यो काम पनि सूचना केन्द्रमार्फत नै गरिने बताए।

प्रदेश १ मा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको जानकारी दिंदै उनले हाल रहेका १६ वटा आन्तरिक विमानस्थल सञ्चालन गर्न संघीय सरकारले पहल गर्नुपर्ने बताए।

प्रदेश १ मा पर्यटकलाई आकर्षण गर्न आवश्यक पर्ने राम्रो होटलसहितका पर्यटन पूर्वाधारमा अझै कमी रहेको भन्दै राउतले त्यसमा सुधार गर्नुपर्ने उल्लेख गरे।

पर्यटकहरुलाई आवश्यक पर्ने यातायात सेवाको पनि उपयुक्त व्यवस्था नभएकोले तीनै तहका सरकारले पूर्वाधारमा सहयोग उनले बताए।

महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि अध्यागमन सेवाको व्यवस्था गर्न सके पर्यटकहरुलाई सहज हुने बताए।

पर्यटन क्षेत्रलाई राज्यले ठूलो आर्थिक स्रोतका रुपमा उपयोग गर्न नसकेको उनको भनाइ थियो। प्रदेश १ मा सहासिक र धार्मिक पर्यटनको विकासको सम्भावना रहेकोले ध्यान त्यसैमा केन्द्रीत गर्नुपर्नेमा बोहराले जोड दिए।

पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको महासंघका पर्यटन समितिका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिए।

१४ वटै जिल्लाका पर्यटकीय स्थलहरुको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, सहासिक पर्यटन सम्वद्ध कम्पनीहरु, टुर गाइड, ट्राभल्स एण्ड टुर्स, होटल लगायतका जानकारीहरु सूचना केन्द्रमा रहने श्रेष्ठले उल्लेख गरे।

सूचना केन्द्रमा पर्यटनसम्बन्धी जानकारी दिन सक्ने दक्ष जनशक्तिको व्यवस्था गरिने जनाइएको छ। त्यसका लागि प्रदेश सरकारअन्तर्गत पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको महासंघले जनाएको छ।

महासंघ प्रदेश समितिका सदस्य रविन दाहालले सूचना केन्द्र स्थापनापछि प्रदेशको पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

दुई महिनाभित्र सूचना केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पर्यटन क्षेत्रसँग सम्वद्ध १६ वटा निकायहरुसँग समन्वय भइरहेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु