विराटनगर । विराटनगरको कोसी अस्पतालमा प्रसूतिका लागि भर्ना गरिएकी एक महिलाको पाठेघर फुटेर पेटभित्रै शिशुको मृत्यु भएको छ। आमाको अवस्था गम्भीर छ।
प्रसूति व्यथाले च्यापेपछि परिवारका सदस्यले मोरङको कटहरी गाउँपालिका–४ की २४ वर्षीया सिर्जना परियारलाई सोमबार बिहान ४ बजेतिर कोसी अस्पतालमा भर्ना गरेका थिए। राति १० बजेतिर शल्यक्रिया गर्दा पाठेघर फुटेर पेटभित्रै शिशुको मृत्यु भएको पाइएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले सिर्जनाको शल्यक्रिया गरेकी हुन्। ‘गर्भवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गर्दा बच्चाको धड्कन ठीकै थियो। साँझदेखि आमाको अवस्था गम्भीर बनेर गयो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले भने, ‘तत्काल शल्यक्रिया गरियो। तर पेटभित्रै बच्चाको मृत्यु भइसकेको रहेछ।’
अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. अन्जु देवका अनुसार पाठेघर फुटेर अत्यधिक रक्तश्राव हुँदा शिशुको मृत्यु भएको पाइएको छ। त्यसपछि आमालाई बचाउन पाठेघर नै फ्याल्नुपर्ने अवस्था आएको उनले बताइन्।
शल्यक्रिया गरेर पाठेघर फ्यालिएकी सिर्जनाको अवस्था पनि गम्भीर छ। भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको डा. देवले बताइन्। ‘अस्पताल भर्ना गरेदेखि नै गर्भवतीको अवस्था नाजुक थियो। हामीले बेलैमा परिवारका सदस्यलाई जानकारी पनि गरायौं। अरु अस्पताल लैजानु भनेर पनि भन्यौं,’ उनले भनिन्, ‘तर उहाँहरुले वास्ता गर्नु भएन। अरु पनि गम्भीर अवस्थाका बिरामी शल्यक्रियाको लाइनमा थिए। प्राथमिकताका आधारमा काम गर्दागर्दै सिर्जनाको शल्यक्रिया गर्दा रात पर्यो।’
अस्पतालमा जनशक्ति अभावका कारण बेलैमा शल्यक्रिया गर्न नपाउँदा दुःखद् घटना भएको डा. देवले बताइन्। उनका अनुसार सिर्जनाको शल्यक्रियाको पालो आउँदा निकै ढिलो भइसकेको थियो। सिर्जनाको पहिलो सन्तान ६ वर्षका छोरा छन्।
‘पहिले नै प्रसूति गराउँदा शल्यक्रिया गरिएकी महिलाको पाठेघर पातलिएको हुन्छ। अर्को सन्तानका लागि बेलैमा अस्पताल आउँदा मात्रै आमा र बच्चालाई बचाउन सकिन्छ,’ देवले भनिन्, ‘सिर्जनालाई अस्पताल ल्याउन पनि केही ढिला भयो। अरु गम्भीर अवस्थाका गर्भवतीको शल्यक्रिया भइरहेकाले अस्पताल भर्ना गरिसक्दा पनि समयमै सिर्जनातिर ध्यान दिन पाइएन।’
अर्कोतर्फ अस्पतालमा चिकित्सक, नर्ससमेतका जनशक्तिको अभाव रहेको उनले बताइन्। ‘अस्पतालमा शल्यक्रियाका लागि भर्ना गरिने प्रसूतिको चाप अत्यधिक छ,’ डा. देवले भन्छिन्, ‘तर जनशक्तिको अभाव रहेको समस्या प्रशासनमा पटकपटक राख्दा पनि सुनुवाइ भएन।’ उपलब्ध जनशक्तिले सकेजति काम गरिरहे पनि दुःखद् घटना हुन पुगेको उनको भनाइ छ। उनले शल्यक्रियामा भने कुनै कमजोरी नभएको बताइन्।
सिर्जनाका जेठाजु सागर परियारले चिकित्सकको लापबाहीले घटना भएको गुनासो गरे। ‘बुहारीलाई अस्पताल भर्ना गरिसकेपछि एक्स–रे र पिसाब चेकजाँच गर्न लगाइयो। तर चिकित्सकले रिपोर्ट भने बेलैमा हेरेनन्। बिहानै अस्पताल भर्ना गर्दा पनि साँझसम्म चिकित्सक नै आएनन्,’ उनले भने, ‘अस्पतालको बेवास्ता र चिकित्सकको लापरबाहीका कारण शिशु गुमाउनु पर्यो । आमाको अवस्था पनि गम्भीर छ । बरु बेलैमा रिपोर्ट हेरेर शल्यक्रिया सम्भव छैन भनिएको भए हामी अन्तै लैजाने थियौं ।’
परियारका अनुसार अत्यधिक पेट दुखेपछि ३ दिनअघि पनि सिर्जनालाई अस्पताल लगिएको थियो । पिसाबमा संक्रमण भएको र अरु समस्या नरहेको भनेर फर्काइदिएको उनको भनाइ छ । घर फर्काएपछि अवस्था झन् गम्भीर हुँदै गएकाले पुनः अस्पताल भर्ना गरिएको परियारले बताए ।