ओ पदमा पुगेको मान्छे,
आजकल तिम्रो निकै मान बढेको छ
त्यसैले तिम्रो धेरै सान बढेको छ
मान र सानको दुन्दुभि ठोकेर
शहर, बजार चोक र गल्लीमा
तिम्रो अभिमान बढेको छ।
हो,
थाहा छ मलाई कुर्सी ठूलै कुरा हो
जो कोहीलाई कुर्सी पाउन गाह्रो छ
कुर्सी पाउने धन्दा गर्न झन् साह्रो छ
तिमीले कुर्सी पाउने कर्म रोज्यौ जीवनमा
र त तिमीलाई कुर्सी निकै प्यारो छ।
मैले तिमीलाई नजिकै देखेको छु
तिमी अभिमानको यात्रामा हुँदा भेटेको छु
सम्झन्छु आजभोलि तिम्रो अहंकार
तिम्रो भित्री सत्य मैले एकएक लेखेको छु।
कहाँ थियौ तिमी?
मुलको पानीमा थिएनौ
कुलको खानीमा पनि होइनौ
अध्यनको पाठशाला तिम्रो
कर्मशाला थिएन
बाँच्दाको जन्ति तिमी आएनौ
मर्दाको मलामी तिमी भएनौ
मर्दा पर्दा कही नभेटिएको मानिस तिमी
असल मानिस पुग्ने
राज्यको उपल्लो पदका कसरी पुग्यौ
धोका, षड्यन्त्र र छलछाम
भए तिम्रा साथमा वाहन
साँच्चै तिमीले निष्ठा बहन गर्ने
जीवनमा असल पाएनौ साधन!
सायद सुकर्म होइन कुकर्म गमिरहेका छौ
इतिहासतिर फर्केर हेर
दुष्कर्मी ढलेको मनमन नै केर
विप्लवले क्रान्तिको गीत घन्काइसक्यो
तिम्रो मुटुले ढ्याङ्ग्रो ठोकिसक्यो
नगर दम्भ, कुकर्म बोकेर
तिम्रो पदको कुर्सी ढल्दैछ ठोकेर।
ओ
पदमा पुगेको मान्छे
अहिले तिमीले नचिने पनि
तिम्रो पद गलेपछि चिन्ने छौ
तिम्रो कुर्सी ढलेपछि बुझ्ने छौ
हरेक दुष्कर्मको पाग पाक्ने खाडलमा
तिमी पनि झर्ने छौ
अजम्बरी नठान आफूलाई
पापाग्नीको रापले तिमी पनि मर्नेछौ
ओ पदमा पुगेको मान्छे!
–कोटेश्वर, काठमाडौ