काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको खोजी गर्न नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ।
प्रहरी प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार डिफ्युजन नोटिस जारी गरेर अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) लाई पत्राचार गरिएको हो।
डिफ्युजन नोटिस इन्टरपोलमा आबद्ध १३५ मुलुकका इन्टरपोल शाखाले जारी गर्न सक्छन्। उक्त नोटिस अनौपचारिक प्रकृतिको हुन्छ भने ‘रेड कर्नर नोटिस’ इन्टरपोल हेडक्वार्टरले जारी गर्नुपर्छ।
सन्दीपविरुद्धको लागेको बलात्कारको आरोप पुष्टि नभएको हुनाले उनीविरुद्ध रेड कर्नर नोटिस जारी नभएको जनाइएको छ।
डिफ्युजन जारी गरेर नेपाल प्रहरीले विश्वभरका १३५ मुलुकमा इन्टरपोल शाखालाई सन्दीपको खोजी गरिदिन आग्रह गरेको छ।
ती मुलुकले आफ्नो देशमा आरोपी भेटेमा नेपाल पठाउन सहजीकरण गर्नेछन्। क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैकामा रहेका लामिछाने आफूविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएको थियो। उनी त्यसयता नेपाल आएका छैनन्।
भदौ २३ मा उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो।
सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुन लडाइँ लड्ने बताउँदै आएका छन्।
सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले भदौ २१ मा जबरजस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्।
उनीविरुद्ध नाबालिगलाई भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल र नगरकोटमा घुमाएर राति काठमाडौंमा ल्याएर बलात्कार गरेको आरोप छ।