स्वार्थी मान्छेहरू आफ्नै मात्र कुरा भनिरहन्छन्
दुःख सुख के कसो नसोधी फाइदा गनिरहन्छन्
दुनियाँमा सबै यस्तै हुन्छन् कि हाम्रोमा मात्रै धेरै,
आउँदा निहुरिए पनि जितेपछि ठाडो बनिरहन्छन्।

***

कसरी पचायौ हिजो मु्द्दा पद्दतिको उठाएर आएका हौ
भएको हैसियत पनि परचक्रीलाई बुझाएर आएका हौ
आखिर के पाउन गयौ विकासको अभियान नै तुवाएर
लाजलाई भुतुक्कै बनाइ साँठगाँठ जुटाएर आएका हौ।

***

जेमा पनि विरोध त्योभन्दा अरू ज्ञान नहुनेहरूले
फूर्ति भने देखाउने एक्लै उभिन ज्यान नहुनेहरूले
हाम्रो नै पहिचानमा जताततै देखिन थाल्यो विकृति
आफूलाई ठान्दा माहात्मा एकाग्र ध्यान नहुनेहरूले।

***

भाग्यमा विश्वास गर्नेहरू मात्रै हिरण्य हुँदैन
कर्मै नगरी एकाग्र रहँदैमा आत्मा शून्य हुँहुदैन
स्वर्ग भेटिन्छ आफ्नो विश्वास मार्गमा हजुर
अनवरत पाइलाहरू अवरोध गरेर पुण्य हुँदैन।

***

आज मैले पार्टी खोलें नाम राखें ‘स्वतन्त्र भो धनियाँ’
हिजोसम्म त स्वतन्त्र थियो आज ‘पार्टी हो धनियाँ’
चलेको फेसनमा होस हवास भने नगुमाई रमाउन पर्छ
नातावादी कृपावादी झार नउम्रार्ने ‘पार्टी यो धनियाँ’

***

खेत बारीको झारपात बेलैमा गोडेर फाल्नु पर्छ
हरेक बिहानको नयाँ काम हात जोडेरै थाल्नु पर्छ
कुप्रचार धेरै गर्दा आज ती राम्रा कुराहरू छोपिए
यसरी कहाँ चल्छ र सञ्जाल तोडेरै सम्हाल्नु पर्छ।

***

सम्बन्ध बिग्रेको कुरा टुटी गएपछि थाहा हुन्छ
अस्मिताको धरातल लुटी गएपछि थाहा हुन्छ
ग्लासभित्र सजाएर राखेका सारा सपनाहरू
कति महत्वका थिए फुटी गएपछि थाहा हुन्छ।

***

दोषारोपण छर्दा दोषमात्रै उम्रिने भो झार
सानो चित्त बनाउनाले मन झुम्रिने भो यार
माया उम्लिनाले कोसे ढुङ्गा बन्न सकेनौँ
लुछाचुँडी गर्दागर्दै हरेराम खुम्रिने भो प्यार।

***

जति दिन सक्छु हो मैले दिएकै थिएँ प्रिय
आजसम्म त पीडा एक्लै पिएकै थिएँ प्रिय
शेष मेरो मरण मात्रै धड्कन पनि रोकिँदैछ
आफूलाई चाहिने कफन सिएकै थिए प्रिय।

***

खोली भनेर के भन्नु खोलीमा छैन पानी भने
दानवीर कसरी भनौँ झोलीमा छैन खानी भने
उनी रूँदा गजल भनिन्छ म रूँदा हँसाउने गीत
मायालु भनेर के काम बोलीमा छैन जवानी भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु