काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। दशरथ रंगशालामा नेपालले ‘फिफा इन्टरनेसनल विन्डो’ अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
खेल साँझ ५ः३० बजे सुरु हुनेछ। बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आइसकेको छ। उसले कम्बोडियालाई १–० गोल अन्तरले हराएको थियो।
नेपाल भने यस फिफा इन्टरनेसनल विन्डोमा पहिलो मैत्रीपूर्णको तयारीमा छ।
नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ। जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ। ५ खेल बराबरीमा सकिएको छ।
सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो। मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो।
नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गत वर्षको असोजमा खेलेको थियो।
माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेको थियो।