रश्मी थापा
विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ जाँतेका राजधन राईकी श्रीमती अमुल भुजेल राई एक वर्षदेखि पेटसम्बन्धी रोगले ग्रसित छिन्। उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको छ।
पाठेघरको ट्युमरको शल्यक्रिया गरेर फालेको ९ महिनापछि उनको पेटमा समस्या सुरु भएको थियो।
इन्डोस्कोपी गरेर हेर्दा आन्द्रा केही ठाउँमा टाँसिएको पत्ता लाग्यो। आन्द्रा टाँसिएपछि उनले खाना खान नमिल्ने भयो। त्यसपछि चिकित्सकले आन्द्रा काटेर जोडिदिएको अमुलका श्रीमान् राजधनले बताए।
उपचारका क्रममा २७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उल्लेख गर्दै उनले त्यसमध्ये १६ लाख रुपैयाँ ऋण लिएको सुनाए।
बाँकी रकम सञ्चयकोषबाट झिकेर खर्च गरेका थिए। उनी १८ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत छन्।
स्वास्थ्यमा राम्रो सुधार नआएकाले अझै केही समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्।
थप उपचारका लागि रकम अभावले राई दम्पती पिरोलिएका छ। ‘अझै कति खर्च लाग्छ थाहा छैन’ राईले भने, ‘पहिलेकै त्यति धेरै ऋण छ, अब कसरी उपचार गर्ने भन्ने समस्या छ।’
थप उपचार गर्नका लागि आवश्यक रकम जुटाउन उनीहरुलाई गाउँलेले सहयोग गरिरहेका छन्। उपचारमा अझै निकै रकम लाग्न सक्ने भएकाले राई दम्पती मनकारी दाताको खोजीमा छन्।
उनीहरुलाई सहयोग गर्न चाहनेले बैंकमा रकम जम्मा गरिदिन सक्छन्। त्यसका लागि राष्ट्रिय वाणिज्य बैंक भद्रपुर शाखामा खाता खोलिएको छ।
सहयोगका लागि रकम जम्मा गर्न सकिने खाता नम्बर हो– २२१०१००००७६१०४ । सहयोग गर्न चाहनेले राजधनलाई ९८४२२९९३२८ मा सम्पर्क गर्न पनि सक्ने छन्।
(प्रशिक्षार्थी)