विराटनगरस्थित कोइराला निवासमा कार्यकर्तासँग कुराकानी गर्दै कोइराला। तस्बिरः एएमजी टाइम्स

विराटनगर । निर्वाचनमा उम्मेदवार बन्न टिकट वितरणमा एकलौटी भइरहेकोप्रति असन्तुष्ट कांग्रेस नेता शेखर कोइराला विराटनगर आएर कार्यकर्ता भेटघाटमा व्यस्त भएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनको कार्यदलको सिट बाँडफाँडका लागि बैठक भइरहेका बेला उनी शुक्रबार गृहनगर आएका हुन्। पार्टीका अधिकांश नेता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकटका लागि पहल गर्न काठमाडौं गएका बेला कोइराला विराटनगर आएपछि कार्यकर्ताले कार्यकर्ताले जिज्ञासा राखेका थिए।

टिकट वितरण प्रक्रियामा सामेल हुनेबारेको कार्यकर्ताको प्रश्नमा कोइरालाले भने, ‘सभापति शेरबहादुर देउवाले नबोलाएसम्म काठमाडौं फर्किन्न।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचनमा आयोगमा पार्टीका तर्फबाट बुझाइएको बन्दसूचीमा सभापति देउवाले एकलौटी गरेको र टिकट वितरणमा पनि उनले एकलौटी गर्ने देखिएपछि कोइराला पार्टीभित्र सन्तुलन मिलाउन संघर्ष गरिरहेका छन्।

कोइराला समूहले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ४० प्रतिशत भाग पाउनु पर्ने माग गर्दै आएको छ। सभापति देउवा एकलौटी रुपमा अघि बढिरहेकाले संघर्ष गरिरहनु परेको कोइराला निकट कांग्रेसका विराटनगर महानगर सभापति दीपक चापागाइँले बताए।

‘नेता कार्यकर्तालाई समेटेर आउँदो निर्वाचनमा अघि बढ्नुपर्ने अवस्थामा पार्टी सभापति एकलौटी ढंगमा अघि बढेपछि छुट्टै भेला गर्दै दबावमूलक कार्यक्रममा उत्रन बाध्य छौं,’ उनले भने, ‘पार्टी महाधिवेशनमा शेखर दाईको पक्षमा मतदान गरेका नेताहरुको संरक्षण गर्ने उहाँको दायित्व हो नि।’

कोइरालाले सुरुदेखि नै अगामी निर्वाचनमा एकलौटी गरिए पार्टीभित्र विद्रोह हुने चेतावनी दिंदै आएका हुन्। पार्टी सभापतिले सबैलाई समेट्नेतर्फ ध्यान नदिएपछि दबाव बढाउन कोइरालाले काठमाडौं छाडेको राजनीतिक वृत्तमा चर्चा छ।

कोइरालाले कांग्रेसभित्र समानुपातिक र प्रत्यक्षमा न्यायोचित रुपमा टिकट वितरण गराउने आफ्नो दायित्व भएको बताए । ‘पार्टीभित्र न्यायोचित टिकट वितरण गराउने मेरो जिम्मेवारी हो,’ उनले भने, ‘काठमाडौं नफर्किने होइन तर पार्टीभित्र कसैलाई अन्याय हुनु हुँदैन।’

यसैबीच कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई सरकारले नजरबन्दमा राख्नु गलत भएको बताएका छन्। नजरबन्दमा राखेर सरकारले जबराको मानवअधिकार हनन् गरेको उनले जनाए। ‘सांसदहरूको पदावधि समाप्त भइसकेको अवस्थामा महाअभियोग स्वतः निस्कृय भएको छ,’ कोइरालाले भने, ‘सदनमा ल्याएको विधेयक सांसदको पदावधि समाप्त भएपछि निस्कृय भए जस्तै महाअभियोग पनि निस्कृय भएको हो।’

कोइरालाले अर्को प्रसंगमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान खारेज गर्ने प्रयास गरेको आरोप लगाए। उनले राष्ट्रपतिले गल्ती गरिरहेका बेला सरकार तथा दलहरूले महागल्ती गर्न नहुने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु