खासगरी काठमाडौंबाट मानिसहरु आफ्नो घर फर्कने भएकाले संक्रमण अझ फैलन सक्ने सम्भावना रहेको हो। दसैँका लागि लाखौं मानिसहरु उपत्यकाबाट घर जाने गर्छन्।
नेपालमा हाल रहेका कूल संक्रमितमध्ये ६१ प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा छन्।यो बेला डेंगु भाइरस देशव्यापी बन्ने सम्भावना रहेको भन्दै स्वास्थ्य सेवा विभागको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए।
आइतबारसम्म देशभरमा २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ हजार १ सय २१ जना काठमाडौं उपत्यकाका छन्।काठमाडौं जिल्लामा हालसम्म ८ हजार १ सय ३६ जनामा डेंगु संक्रमण पाइएको छ।
विज्ञहरू डेंगीको विस्तार अझ पाँच साता जान सक्ने भएकाले हरेक घर र बाहिर लामखुट्टेको फुल, लार्भा र प्युपालाई ‘सर्च एन्ड डिस्ट्र्रोय’ (खोजी र नष्ट) गर्नुको विकल्प नरहेको बताउँछन्।
लामखुट्टेको बासस्थान राम्ररी खोजेर नष्ट गरिए मात्र यो संक्रमण नियन्त्रण हुने विज्ञहरुले बताएका छन्।
एउटा वयस्क लामखुट्टेले आठ सय वटासम्म फुल पार्ने र फुल, प्युपा र लार्भा सफा पानीमा रहने भएकाले संक्रमित लामखुट्टेको टोकाइबाट बच्न फुल, प्युपा, लार्भा खोजेर नष्ट गर्नुपर्ने जनाइएको छ।
संक्रमित लामखुट्टेले पारेको फुल नष्ट हुनबाट जोगियो भने यो ८–९ महिनासम्म पानीको सम्पर्कमा आउँदा डेंगु सार्ने लामखुट्टेमा परिणत हुन सक्छ।
दसैंमा काठमाडौंबाट घर जानेहरूलाई डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिए झुलभित्र सुत्न, लामखुट्टेको टोकाइबाट बच्न र डेंगु परीक्षण गराउन सल्लाह विज्ञहरुले दिएका छन्।
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगु संक्रमण देखिएको थियो। सन् २०१९ मा सबैभन्दा बढी १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो।
डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण हो। डेंगु एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोक्दा संक्रमण हुन्छ।
संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा डेंगुको संक्रमण हुन्छ। संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा लक्षण देखा पर्न थाल्छ।
चिकित्सकहरूका अनुसार हाल संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जीउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिन्छन्।
चिकित्सकहरुका अनुसार संक्रमित बिरामीले ज्वरो कम गर्न सिटामोल खानुपर्छ र आराम गर्नुका साथै झोलिलो पदार्थ बढी खानुपर्छ।
डब्लूएचओका अनुसार डेंगीमा ज्वरो, दुखाइ जस्ता लक्षणका लागि ‘एसिटामिनोफेन’, वा ‘पारासिटामोल’ खानुपर्छ।