विराटनगर । शिक्षकको हत्या गरेको आरोपमा ओखलढुङ्गामा एक युवती पक्राउ परेकी छन् । चिशंखुगढी–४ मा शिक्षक दीपककुमार ठाकुरको हत्या आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला हुन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङका डीएसपी सुकदेव खनालका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति उनको हत्या गरेर फरार भएकी थिइन्।
विष्णुपुर गाउँपालिका–५, सप्तरी स्थायी घर भएका भएका शिक्षक ठाकुर लामो समयदेखि ओखलढुङ्गामा शिक्षण पेसामा कार्यरत थिए।
असोज ७ गते बिहान शिक्षक आफ्नै कोठामा मृत अवस्थामा फेला परेको सूचना पाएर शेर्नास्थित प्रहरी चौकी शेर्नाबाट प्रहरी टोली गएको थियो।
शिक्षकलाई कुटपिट गरी घाइते बनाई नाक, मुख र घाँटीमा गम्छाले बाँधेर मुखमा सिरानीले थिचेर हत्या गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
आरोपित धमला पहिले ठाकुरकै विद्यार्थी रहेको र हत्याअघि उनीहरू प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ।