विराटनगर । विराटनगरमा सुरु भएको ‘स्व.बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा झापा दमकको दमक–लखनपुर भेट्रान क्लबले विजयी सुरुआत गरेको छ।

सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्लब र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा दमकले मोरङको एभरेष्ट भेट्रान क्लबलाई टाइब्रेकरमा ४–२ गोलमा हराउँदै क्वाटरफाइनलमा पुगेको छ।

खेलको निर्धारित समयमा दुवै टोली गोलरहित बराबरी खेलपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

देउमान लिम्बू, पुष्कर धिमाल, प्रेम हेवाङ तामाङ र सुवास आङथुप सुब्बाले दमकका लागि गोल गरे भने शिव चौधरीको प्रहार गोल हुन सकेन।

त्यस्तै, एभरेष्टका लागि विमल लिम्बू र दीपक खड्काले गोल गरे भने इन्द्रमणि पोखरेल र अशोक सुनवार गोल गर्नबाट चुके।

खेलको म्यान अफ द म्याच दमकका गोलरक्षक टंक धिमाल भए। प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले गरेकी थिइन्।

उद्घाटन कार्यक्रममा एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँलगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

असोज १५ गतेसम्म सहिद रंगशालामा हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता छ ।

टिमुरले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब सहभागी छन्।

यस्तै, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्लब, एभरेष्ट भेट्रान क्लब, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्लब र आयोजक टिमको सहभागिता रहेको खेल संयोजक किशोर धमलाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल विराटनगरको युनाइटेड भेट्रान क्लब र इटहरीको जनता भेट्रान क्लब तथा दोस्रो खेल झापाको विर्तामोड भेट्रान क्लब र विराटनगरको विन्दवासिनी भेट्रान क्लबबीच हुने प्रतियोगिता आयोजक कमिटीका सचिव रोहित कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु