विराटनगर । दसैँ, तिहार र छठ पर्वका बेला चहलपहल बढ्ने भएकाले यात्रुलाई मद्दत गर्न विराटनगरमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ।
ट्राफिक तथा नेपाल प्रहरी र यतायात व्यवसायीको पहलमा यात्रुको सुरक्षा तथा सुविधालाई ध्यान दिंदै कक्ष सञ्चालन गरिएको हो। प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार यात्रुका गुनासो सुन्ने अनि कुनै समस्या भए सहयोग गर्ने काम कक्षमा रहेका कर्मचारीले गर्ने छन् ।
विराटनगरमा बसपार्कमा सहयोग कक्ष राखिएको छ। बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठले ‘पब्लिक पार्टनरसीप मोडेल’ बाट सञ्चालित बसपार्कमा राखिएको सहायता कक्षबाट यात्रुहरुलाई फाइदा हुने बताए। विराटनगर महानगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले यात्रु सहायता कक्ष सञ्चालन गरिएकामा आभार व्यक्त गरे। पर्वका बेला यात्रुको आगमन बढ्ने भएकाले सहायता कक्ष प्रभावकारी हुने उनले बताए।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले चाडपर्वका बेला यात्रुले दुःख पाउने र ठगिन सक्ने सम्भावनालाई मध्यनजर गरेर यात्रु सहायता कक्षा सञ्चालन गरिएको जानकारी दिए । सार्वजनिक सवारीसाधनमा यात्रुको सहजताका लागि सहायता कक्षबाट मद्धत पुर्याइने उनको भनाइ छ ।चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले मोरङका सहरी तथा ग्रामीण क्षेत्रमा समेत सार्वजनिक सवारीसाधन चेकजाँच तीव्र पारेको छ । ट्राफिक प्रहरी पोस्ट रंगेलीका सहायक निरीक्षक (असइ) किशोर निरौलाले नियम उल्लंघन गर्ने, यात्रुलाई दुःख दिने र भाडाका नाममा बढी पैसा असुल्ने सवारीसाधनमाथि निगरानी बढाइएको बताए ।
उनका अनुसार नियमविपरीत सञ्चालन हुने सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गरिने छ । कुनै ठाउँमा सार्वजनिक सवारीसाधनमा यात्रुलाई असहज र गलत व्यवहार भएमा तत्काल प्रहरीलाई खबर गर्नुपर्ने असइ निरौलाको भनाइ छ । (प्रशिक्षार्थी)