सरिता कर्मकार 

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा मनपरी ढंगले पूर्वाधार सम्भार शुल्क असुली भइरहेको छ।

नियमको धज्जी उडाउँदै कर संकलनका नाममा ठेकेदारले जथाभावी शुल्क असुली गरिरहेको पाइएको हो। नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि पाथीभरा कन्स्ट्रक्सनलाई शुल्क असुलीको ठेक्का लगाएको थियो। कन्स्ट्रक्सनले हाट–बजार, निकासी, पूर्वाधार सम्भारसमेतका कर संकलनका लागि ठेक्का पाएको छ।

भ्याटसहित ९२ लाख ४० हजार ८ सय ८८ रूपैयाँ बराबरमा एकमुष्ठ ठेक्का पाएको कन्स्ट्रक्सनले रसिद बनाएरै आफ्ना प्रतिनिधि परिचालन गर्दै नगरपालिकाले तोकेभन्दा बढी रकम उठाइरहेको छ। पूर्वाधार सम्भार शुल्क तोकेको भन्दा बढी लिएको पाइएको हो।

ठेकेदार कम्पनीले मिनी ट्रकलाई ५० रूपैयाँसम्म कर लिने गरेको छ। जबकि मिनी ट्रकसँग २० रूपैयाँ मात्रै लिन पाउने नियम नगरपालिकाले बनाएको छ। स्पष्ट हिसाबले शुल्क तोकको भए पनि माथिको आदेश भन्दै बढी रकम लिने गरिएको व्यवसायी बताउँछन्।

व्यवसायी रोशन श्रेष्ठले कर संकलनमा खटिएकाहरुले आफूलाई ५० रूपैयाँको रसिद थमाइदिएको बताए। ‘व्यवसाय गर्दा सरकारले तोकेको कर तिर्छौं भन्दा पनि पाइँदैन,’ उनले भने, ‘माथिको आदेश भन्दै बढी रकम उठाउँदा हामी मारमा परिरहेका छौँ।’ व्यवसाय सञ्चालनका क्रममा आफू नियमित लेटाङ गइरहनु पर्ने उनको भनाइ छ। श्रेष्ठले यस विषयमा जानकारी गराउँदा पनि नियमविपरीतको असुली नियन्त्रणमा नगरपालिकाले चासो नदिएको गुनासो गरे।

अर्का व्यवसायी दीपक ढकालले मनपरी असुलीका कारण व्यवसायीले सास्ती भोग्नु परेको गुनासो पोखे। नगरपालिकाले एउटा शुल्क तोक्ने र ठेकेदारले अर्कै लिने गरेको उनको भनाइ छ।

पाथीभरा कन्स्ट्रक्सनका प्रोप्राइटर जीवन न्यौपानेले अन्जानमा गल्ती भएको हुनसक्ने बताए। ‘नगरपालिकाले तोकिएकै शुल्क उठाउने हाम्रो योजना हो। जानेर बढी शुल्क उठाएका छैनौं,’ उनले भने, ‘कुनै प्रतिनिधिले नजानेर गल्ती गरेको हुनसक्छ। गल्ती भएको रहेछ भनेर सच्याएर अघि बढ्छौं।’ तर जानाजान बढी शुल्क भने नउठाएको न्यौपानेले बताए।

लेटाङ नगरपालिकाका योजना अधिकृत भूपेन्द्र खनालले कन्स्ट्रक्सनका सम्बन्धमा धेरै गुनासो आइरहेको बताए। ‘पूर्वाधार सम्भारमा मात्रै हैन, हाट–बजार र निकासी कर पनि बढी उठाइरहेको गुनासो छ,’ उनले भने, ‘यस विषयमा ठेकेदारसँग बुझ्दै छौं।’

खनालले कुन शीर्षकमा कति कर बुझाउनुपर्छ भनेर सार्वजनिक र कर संकलनस्थलमा ‘फ्लेक्स’ नै बनाएर नगरपालिकाले राखिदिएको बताए। ‘कर उठाउनेले त बढी रकम लिनै पाइएन,’ उनले भने, ‘तिर्नेले पनि ‘फ्लेक्स’ हेरेर तिर्नु प¥यो।’ उनले कर संकलन कानुन संवत हुनुपर्नेमा जोड दिए।

खनालका अनुसार पूर्वाधार सम्भार शुल्क सवारीसाधन अनुसार अलगअलग तोकिएको छ। १० चक्के टिपरलाई ७५ रूपैयाँ, ६ चक्केलाई ५० एवं निजी तथा भाडाका बस, ट्रक र लहरीलाई ३०, निजी तथा भाडाका ट्याक्टर, मिनी ट्रक र मिनी बसको २० एवं निजी तथा भाडाका ट्याक्सी, ट्याम्पो, कार लगायतका साना सवारीसँग १० रुपैयाँ शुल्क तोकिएको छ। उनका अनुसार एम्बुलेन्स, शववहान, सरकारी गाडी, दमकल, कूटनैतिक नियोगका गाडीहरुमा शुल्क लाग्दैन।

लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बढी कर लिन नपाइने बताए। बढी कर संकलन गरेको प्रमाणसहित कोही आएमा ठेकेदारलाई कारबाही गरिने उनको भनाइ छ। (प्रशिक्षार्थी)

497
Shares
९ आश्विन २०७९, आईतवार १७:३४