विराटनगर । प्रदेश १ को मुख्य न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त भएका छन्। मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले राजीनामा दिएपछि राई प्रदेशको तेस्रो मुख्य न्यायाधिवक्ताका रुपमा नियुक्त भएका हुन्।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा (६) को उपधारा (२) बमोजिम उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।
प्रदेशको मन्त्रिपरिषद्ले यसअघि २०७८ मंसिरमा अधिवक्ता श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको थियो। उनले राजीनामा दिएपछि उनको ठाउँमा प्रदेश सरकारले खोटाङको साकेला गाउँपालिका–२ घर भएका राईलाई नियुक्त गरेको हो।
राईले आइतबार शपथग्रहण गरेका छन्। प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए।
शपथग्रहणलगत्तै राईले पदभार ग्रहण गरेका छन्। शपथग्रहण समारोहमा मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश सभामुख प्रदीप भण्डारी, सामाजिक विकासमन्त्री राजनकुमार राईको उपस्थिति थियो।
प्रदेशको पहिलो मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य नियुक्त भएका थिए। तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले २०७४ चैतमा आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको थियो।
राजेन्द्र राईको नेतृत्वमा सरकार बनेपछि श्रेष्ठ मुख्य न्यायाधिवक्ता बने। अहिले श्रेष्ठको ठाउँमा तेस्रो मुख्य न्यायाधिवक्ता रूपमा राईलाई नियुक्त गरिएको हो। उनी २० वर्षदेखि कानुन व्यवसायमा आवद्ध छन्।