काठमाडौं। साबा महिला बास्केटबल च्याम्पियनसिपअन्तर्गत आइतबार नेपाल र आयोजक माल्दिभ्सबीच खेल हुँदैछ । खेल राति ८ः१५ बजे सुरु हुनेछ।
नेपाली टोली सदिना श्रेष्ठको कप्तानीमा रहेको छ। घरेलु प्रतिद्वन्दीविरुद्ध नेपाललाई जित निकाल्न सहज नहुने भए पनि नेपाली टोली पहिलो खेलमै विजय भएर सुखद सुरुआत गर्ने प्रयासमा हुनेछ।
नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन्।
प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स पुगिसकेको छ। चार राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ।
प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन्। नेपालका फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।
तस्बिर साभारः खेलपाटी