सतिशकुमार राजवंशी

विराटनगर । वशिष्ट सिंह दिनभरि खेतमा खटिरहेका भेटिन्छन्। उनको मेहनत बोडी, भिण्डी, काउली, गोलभेंडाजस्ता मौसमी तरकारी उब्जाउन लागिरहेको हुन्छ।

उब्जाएको तरकारी बिक्रीबाट हुने आम्दानीले लामो समयदेखि घर चलाइरहेका छन्। २० वर्षदेखि तरकारी खेतीमा संलग्न मोरङको जहदा गाउँँपालिका वडा ४ का सिंहको मेहनत यतिका लागि मात्रै भने होइन।

आफूले विद्यालयमा पढ्न पाएनन्। पढ्न नपाउँदा भोगेका अप्ठ्याराहरुसँग उनी परिचित भए। यही भएर आफूले पढ्न नपाए पनि छोराछोरीलाई भने उनीहरुले चाहेजति पढाउने अठोट गरे।

त्यही अठोटलाई साकार रुप दिन उनी दैनिक खेत बारीमा आफ्नो पसिना बगाइरहेका हुन्छन्। ‘मैले पढ्न पाइन’ उनी भन्छन्, ‘छोराछोरीलाई जति पढे पनि पढाउँछु।’

कृषि कर्म सजिलो नभए पनि छोराछोरीको भविष्यका लागि आफू यसैमा लागिरहने सिंहको भनाइ छ। ‘दिनभरि तरकारी बालीहरुको हेरचाहमा हुन्छु’ उनी भन्छन्, ‘कहिलेकाहिँ राति पनि मेहनत गर्नुपर्छ।’

सिंहका जेठा छोरा विराटनगरस्थित कोबास कलेजमा कम्प्युटर म्यानेजमेन्ट विषय लिएर पढ्दैछन्। छोरी व्यवस्थापन विषयमा कक्षा १२ मा अध्ययनरत छिन्। १० कक्षामा पढिरहेहका कान्छा छोराले चार्टर एकाउन्टेन्ट बन्ने उद्देश्य लिएका छन्।

उनले मेहनत गरेर पढाइ खर्च जुटाइरहेका छन्। बुवाको परिश्रम देखे, बुझेका छोराछोरीहरु पनि मेहनतका साथ पढिरहेका छन्। उनीहरुको पढाइ राम्रोसँग चलिरहेकामा बुवा पनि खुसी छन्।

‘राम्ररी पढुन् अनि आफ्नै खुट्टामा उभिउन् भन्ने मेरो सपना छ’ सिंह भन्छन्, ‘उनीहरुले धेरै पढे र उन्नति गरे भने मेरो यो सपना पूरा हुनेछ।’

यसपालि उनले आफ्नो एक कठ्ठा जग्गामा गोलभेंडा लगाएका थिए । कठ्ठाको १५ देखि २० हजारसम्म लगानी लाग्ने गोलभेंडा खेतीबाट डेढ लाख रुपैयाँ कमाइ हुने उनी बताउँछन्।

बोडी लगाउँदा कठ्ठाको ६ हजार रुपयाँ लगानी हुन्छ। त्यसबाट ५० हजार रुपयाँँसम्म कमाइ हुने उनले सुनाए।

खेती गर्दा उनले कतिपय समस्या ब्यहोर्नुपर्छ। बेलामा मलखाद नपाउँदा हैरानी हुने उनको अनुभव छ। गाउँ ठाउँमा सहजै नपाइने भएकाले उनी भारतबाट भन्सार छलेर ल्याइएको मल किन्न बाध्य छन्।

सिंहमात्र होइन अरु किसानको पनि अवस्था उस्तै हो। यसरी किन्दा सात सय रुपैयाँ पर्ने युरिया मललाई १५ सय र २२ सय पर्ने डीएपी मललाई ३७ सय रुपैयाँसम्म तिर्नुपर्ने उनी बताउँछन्।

तरकारीका बिउ पनि समयमा पाइँदैन। स्थानीय बजारमा बेलैमा नपाइने भएकाले उनी भारतीय सीमावर्ती बजार पुगेर बिउ ल्याउँछन्।

सिंहजस्ता कृषि कर्म गरेर आफ्ना सन्तान पढाउने, उनीहरुको उन्नतिका लागि सकेको भरथेग गर्नेहरुका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने हो।

बाली बिमा, समयमै मल, बिउ उपलब्ध हुने व्यवस्थाका साथै उत्पादनको बजार सुनिश्चित गरिदिने व्यवस्था गरिदिन स्थानीय तहहरुले ध्यान दिनुपर्ने किसानहरु बताउँछन्।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु