तस्बिरः एनवाइटी
काठमाडौं। एटलान्टिक महासागरमा आएको ‘फिओना’ नामको आँधीबाट पूर्वी क्यानाडाका पाँच प्रान्त प्रभावित भएका छन्। शनिवार बिहानसम्म तीब्र गतिमा आएको आँधीले नोभास्कोसिया, प्रिन्स एडवार्ड आइसल्याण्ड, क्युबेक, न्यु ब्रन्सविक, न्यु फाउन्डलेण्ड एण्ड लाब्राडोर र माग्डालेन आइसल्याण्डका वासिन्दा प्रभावित भएका हुन्।
क्यानेडियन संचारमाध्यमका अनुसार, न्यु फाउण्डल्याण्ड एण्ड लाब्राडोर प्रान्तको सामुद्रिक नाका पोर्ट अक्स बास्कमा ‘फिओना’ आँधीले वितण्डा मच्चाएको छ। त्यहाँ धेरैवटा घर भत्किएका छन्। अन्य थुप्रै भौतिक संरचनाहरु क्षतिग्रस्त छन्। बिद्युत प्रवाह अवरुद्ध छ। राजमार्गमा अवरोध छ। मानिसहरुको दैनिकी खल्बलिएको छ। त्यहाँ संकटकाल लगाइएको छ।
नोभास्कोसिया प्रान्तका केही भागमा अविरल वर्षाले पहिरो गएको छ। त्यहाँ पनि सवारी साधन सञ्चालनमा अप्ठ्यारो परेको छ। त्यहाँका चार लाख भन्दा धेरै उपभोक्ताको घरमा विद्युत प्रवाह रोकिएको छ। प्रिन्स एड्वार्ड आइसल्याण्ड प्रान्तमा ८२ हजार उपभोक्ता विद्युत सुविधाबाट बाहिर छन्।
न्यु ब्रन्सविकमा ५५ हजार उपभोक्ताको घरमा विद्युत प्रवाह रोकिएको छ। न्यु फाउण्डल्याण्डमा ११ सय ३३ उपभोक्ता अन्धकारमा छन्। क्युबेकमा चार हजार दुई सय ३२ र माग्डालेन आइसल्याण्डमा १६ सय ८४ उपभोक्ताको घर विद्युतविहीन भएको छ।
नोभास्कोसिया प्रान्तमै पर्ने केप ब्रिटोन आइसल्याण्डमा पनि संकटकाल लगाइएको छ। त्यहाँका वासिन्दालाई अर्को सूचना जारी नभएसम्म घर बाहिर ननिस्कन भनिएको छ।
क्यानेडियन रेडक्रसले नोभास्कोसिया प्रान्तका आँधी प्रभावितका लागि सिड्नीमा अस्थायी शिविर बनाएको छ। स्थानीय नगरपालिकाहरुले पनि उद्दार र राहतमा जनशक्ति परिचालन गरेका छन्। सिड्नीको उत्तरी क्षेत्रमा रुखहरु ढलेकाले सवारी साधन सञ्चालनमा समस्या छ।
‘हामीले अहिलेसम्म यस्तो सामुद्रिक आँधी देखेका थिएनौं’ स्थानीयको भनाइ उद्यृत गर्दै ‘सिबिसी न्युज लेख्छ, ‘यसले पुऱ्याएको क्षतिबाट मुक्त हुन सजिलो छैन।’ एटलान्टिक महासागरमा आएको ‘फिओना’ आँधी शुक्रवार अपरान्हदेखि पूर्वी क्यानाडा प्रवेश गरेको थियो। यसको गति एक सय ६० किमी प्रतिघण्टाभन्दा माथि थियो।
आँधीले सामुद्रकि किनारका बस्ती र बन्दरगाह बढी प्रभावित भएका छन्। इन्भारोन्मेन्ट क्यानाडाले ‘फिओना’ आँधीले मच्चाउने वितण्डा सोचेभन्दा धेरै हुने उल्लेख गर्दै प्रभावित क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन पहिल्यै आग्रह गरेको थियो। केही भागमा दुई सय मिलिमिटरसम्म वर्षा हुनसक्ने जनाइएको छ।
क्यानाडाका प्रधानमन्त्री जष्टिन ट्रयुडोले आँधीले पुऱ्याउने असरमाझ विदेश यात्रा सान्दर्भिक नहुने निक्र्यौल गर्दै पूर्वनिर्धारित जापान भ्रमण स्थगित गरेका छन्।