विराटनगर । केही महिनायता रोजगारीका लागि विदेश जाने नेपालीको सख्या वृद्धि भएको छ । यो आर्थिक वर्षको दुई महिनामा गत वर्षको भन्दा दोब्बर बढी वैदेशिक रोजगारीमा गएका छन् । श्रम स्वीकृति लिनेको संख्या पनि बढिरहेको छ ।

भदौमा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष २०७८/७९ को भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा नयाँ, म्यानपावरमार्फत र पुनः श्रम स्वीकृति गरी ६८ हजार ८८४ जना पुरुष र ७ हजार ५१९ जना महिला गरी ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यो सङ्ख्या चालु आर्थिक वर्षको साउन महिनाको भन्दा पनि बढी हो । साउन महिनामा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए ।

श्रम स्वीकृति लिनेमा ५६ हजार ७९७ जना पुरुष र ६ हजार २४२ जना महिला रहेका थिए । साउनमा भन्दा भदौमा १३ हजार ३६४ जना बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु