विराटनगर । ‘झोराहाटमा साहित्य’ कार्यक्रमको असोज शृङ्खला शनिबार झोराहाट नाटकघरमा सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शनिबार हुने कार्यक्रममा तीन जिल्लाका स्रष्टा सहभागी थिए ।

यसपटक इनरुवाका अग्रज स्रष्टा रमेन्द्र कोइराला, इलामका स्रष्टा विवश बलिभद्र कोइराला, विराटनगरकी स्रष्टा लक्ष्मी चौधरी युग्मी र सुनसरीकी स्रष्टा बबिता भुजेलले आफ्ना ५–५ वटा सिर्जना सुनाएका थिए ।

स्रोता स्रष्टा र शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गाईघाटमा रहेर साहित्य अभियान चलाइरहेका हाँस्यब्यङ्य साहित्यकार माधव पोखरेल गोज्याङ्ग्रेलाई सम्मान गरिएको थियो ।

हालै दिवंगत हुनुभएकी स्रष्टा राधारमाप्रति सम्मान स्वरुप श्रद्धाञ्जली अर्पण गर्दै शुरु भएको कार्यक्रमको प्रमुख अतिथि महाकाव्यकार डम्मरुबल्लभ भण्डारी थिए ।

कार्यक्रममा मुक्तक प्रतिष्ठान प्रदेश १ का अध्यक्ष बाबुराम पोखरेल, समीक्षक हरि कट्टेल, पतन्जली योग समितिका पदाधिकारीहरु, डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष विनोद विवश घिमिरे, नोबेल साकोस प्रदेश १ की अध्यक्ष मीना श्रेष्ठ सबी, खोटाङ साहित्य कार्यक्रमका संयोजक रोहिणी रसिकको सहभागिता थियो ।

यसैगरी, कवि प्रिन्स प्रमोद ढकाल, गायिका राधा सुवेदी, गजलकार रोमु अधिकारी, साहित्य साधक छवि बैरागी घिमिरे, मुक्तककार लक्ष्मी स्मृति, लगायत साहित्यकारहरुको उपस्थिति थियो ।

झोराहाट नाट्य समूहका सचिव छत्र काफ्लेको सभापतित्वमा भएको कार्यक्रम समूहका अध्यक्ष भरत गुरागाईँले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु