विराटनगर । विराटनगरमा आइतबार ‘स्व.बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान्स फुटबल’ प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन खेल दमकको दमक-लखनपुर भेट्रान्स क्बल र मोरङको एभरेष्ट भेट्रान्स क्लबबीच हुनेछ । सहिद रंगशालामा हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता हुने तय भएको छ ।

सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले प्रतियोगिता आयोजना गर्ने भएका हुन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक किशोर धमालले फुटबलमा योगदान पुर्याएका व्यक्तिको स्मृतिमा आयोजना गर्न लागिएको बताए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विराटनगरको खेलकुद क्षेत्रलाई चलायमान बनाउनु हो । ‘तीनवटै क्लब मिलेर फुटबल खेलाडी विजय भुजेल (बन्टी) को स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ संयोजक धमलाले भने, ‘बन्टीको परिवारलाई केही सहयोग गर्न सकिन्छ कि भनेर प्रतियोगिता आयोजना गर्न लागिएका हौं ।’

प्रतियोगिताबाट भएको आम्दानीबाट खर्च कटाएर बन्टीको परिवारलाई आर्थिक सहयोग गर्ने आयोजक समितिका सचिव रोहित कोइरालाले बताए ।

एन्फाका पूर्वउपाध्यक्ष सन्तोष बानियाँले बन्टीले फुटबलमा थोरै समय मात्रै बिताए पनि राम्रो योगदान दिएको बताए । भेट्रान्स प्रतियोगिताहरु भइरहँदा पुराना खेलाडीलाई एक ठाउँमा ल्याउनुका साथै स्वस्थ रहन मद्दत पुग्ने बानियाँले बताए ।

टिमुरले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिरहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्लब, एभरेष्ट भेट्रान क्लब, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्लब र आयोजकको सहभागी हुनेछन् ।

विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायत व्यक्तिगत पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।

56
Shares
८ आश्विन २०७९, शनिबार १७:४७