सतिशकुमार राजवंशी

विराटनगर । हरेक वर्षा याममा लोहन्द्रा खोलामा आउने बाढीले मोरङको जहदा गाउँपालिकाका बस्तीमा क्षति पुर्याउँछ । धेरै वर्षदेखिको यो समस्याले उक्त गाउँपालिकाको वडा नम्बर ४ स्थित बस्तीका बासिन्दा बढी पीडित छन् ।

बाढी आउँछ, बस्ती जलमग्न बनाउँछ । घर घरमा भलबाढी पसेर गाउँले विस्थापित हुनुपर्ने अवस्था आउँछ । उनीहरुले लगाएको बाली बाढीले सखाप पार्छ । घर, बाली सबैमा नोक्सानी ब्यहोर्नु पर्ने अवस्थाबाट उक्त वस्तीका बासिन्दा मुक्त हुन सकेका छैनन् ।

नदीको भेल घरभित्रै पस्छ । कतिपय अवस्थामा गाईवस्तु बगाएर लाने गरेको जहदा ४ की चन्दादेवी कोइरीले बताइन् । उनले आफ्नो तीन विघा जग्गामा तरकारी खेती गर्दै आएकी छन ।

गत वर्षको ठूलो बाढीले उनको खेती डुबाएको थियो । पोखरीमा पालेका माछा पनि बगायो । गत वर्ष बाली लगाउन लिएको ऋण समेत तिर्न गाह्रो छ उनलाई । यस्तो अवस्था देख्दै आएका उनका छोरा कमाउन विदेश जान चाहन्छन् ।

नदी तटनजिकै चार बिघामा खेती गर्ने मनितादेवी सिंह भन्छिन् ‘भेलले नै गर्दा सधैंजसो आधा बाली नास भएर जान्छ ।’ अघिल्लो वर्ष १० कठ्ठा जग्गामा बैगुन लगाउँदा भेलले उनको लगभग पाँच कठ्ठाको खेती नष्ट गरेको थियो ।

स्थानीय कृषक शत्रुधनप्रसाद सिंहले नदी छेउको एक विघा जग्गामा खेती गर्दैै आएका छन् । उनी भन्छन् ‘यसपटक खोलाले त्यति कटान नगरेको भए पनि गत वर्षको बाढीले नदी छेउमा रहेको थुप्रै ठाउँको खेत कटान गरेर खेती नष्ट भएको थियो ।

लोहन्द्रा खोलामा आउने बाढी दुई सय मिटर पूर्व बनेको नहरमा ठोक्किएर खेती भएकैतिर बग्ने भएकाले बढी क्षति हुने गरेको छ ।

स्थानीय तहबाट केही स्थानमा तटबन्ध निर्माणको काम भइरहे पनि आवश्यक सबै स्थानमा नबनाइएकाले प्रभावकारी हुन नसकेको गाउँले बताउँछन् ।

उक्त वडाका वडाअध्यक्ष शिवशंकर गामी बजेट अभावमा निर्माणको काम हुन नसकेको बताउँछन् । गाउँपालिकाको बजेटले मात्र नपुग्ने भएकाले प्रदेश वा केन्द्रले लगानी गर्नुपर्ने उनको भनाइ छ ।

हरेक वर्ष भलबाढीबाट हुने नोक्सानीबाट राहत पाउन उनी किसानलाई बाी बिमा गर्ने सल्लाह दिन्छन् । नहरले बाँधको रुपमा काम गरेको विषयमा उनी भन्छन् ‘नहरमा कलबट निर्माणका लागि सिँचाई मन्त्रालयबाट बजेट आएको हो तर स्थानीयले जग्गा बिगार हुन्छ भन्ने डरले आपm्नो जग्गा अगाडि कल्भर्ट निर्माण गर्न नदिएपछि काम हुन नसकेको हो ।’

जहदा गाउँपालिकाका योजना अधिकृत राजेन्द्र पोखरेल भन्छन् लोहन्द्रा खोला जहादाका प्रत्येक वडालाई छोएर बग्ने नदी हो । नदी तट आसपास करिब पाँच सय घरहरु छन् ।

भेल आउँदा प्रभावित क्षेत्रका बासिन्दालाई गाउँपालिकाले त्रिपाल, मुरही, चिउरा र दाल जस्ता राहत उपलब्ध गराउने गरेको छ । गाउँपालिकाको आर्थिक स्रोतले तटबन्धन निर्माणको काम भए पनि पर्याप्त देखिएको छैन ।

संघीय सरकारको बजेटमा गत वर्ष वडा नम्बर २ मा तीन सय मिटर लामो तटबन्ध निर्माणको काम पनि भएको थियो । तर सिंगो बस्तीलाई वर्षायामको बाढीबाट जोगाउन विस्तृत योजना बनाएर काम गर्नुपर्नेमा स्थानीय बासिन्दा जोड दिन्छन् ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु