रातभरि ठूल्ठूला मच्छडहरुसँग
निरन्तर द्वन्द्व गरेपछि
सरकारी अस्पतालको
कुरुवा बेन्चबाट उठेर
सखारै
झिसमिसेमै
ताराहरु झरिसक्न नपाउँदै
कविका खुट्टाहरु चल्न थाले
सहरको फुटपाथमा,
पर गाउँबाट
जाउलो ल्याउनु छ उसले
अस्पतालमा राखिएकी
आफ्नी जहानका लागि ।
गुट्मुटिएर एकै ठाउँ गुजुल्टिएका
भुस्याहा कुकुरहरु बिस्तारै चल्मलाउँदैछन्
अब केही छिनमा पुच्छर हल्लाउँदै
खाना खोज्न हिँड्नु पर्नेछ तिनले,
पशु वधशाला बाहिर
फगत हड्डीको लागि
आपसमा सङ्ग्राम हुनेछ उनीहरुको,
रक्ताम्य हुनेछन् यदुवंशीजस्तै ।
सडक पेटीमा सुतेको पागल
अझै उठेको छैन,
मजस्तै ऊ पनि
हिंस्रक मच्छडको सिकार भयो होला,
ऊ उठे पनि नउठे पनि
कसैलाई केही फरक पर्दैन ।
सडकबत्तीको कर्मचारी
निद्रामै हुनुपर्छ अहिले,
बत्ती निभेका छैनन्
एकछिनमा उठ्नेछ विचरा
आफ्नो जिन्दगी ओरालो लागेजस्तै
स्वीच अफ गर्नेछ उसले बत्तीहरु ।
अब एकैछिनमा आउनेछे चन्द्रकला
खर्याङखर्याङ बाटोको फोहोर बढार्नेछे र
खुबसँग गाली गर्नेछे
समयमा तलब नदिने
नगरपालिकाको हाकिमलाई ।
सडकमा फाट्टफुट्ट देखिँदैछन्
तीव्र गतिमा हिँड्न खोजेका मान्छेहरु,
शरीरबाट पसिना चुहिँदैछ
आँखामा जिन्दगीको चाहना छ
प्राइभेट क्लिनिकको कुनै डक्टरले
मर्निङ्ग वाक गर्नु भनेको हुनुपर्छ उनीहरुलाई ।
हेन्डिलमा पत्रिकाको पोको बोकेर
साइकल कुदाउँदैछ हकर
घरघर पुग्नुपर्छ उसले,
सायद पत्रिकामा
हिजो साँझ कुनै स्टार होटलमा
देश बनाउने खबर छापिएको
मन्त्रीको भाषणको
पूर्णपाठ हुनुपर्छ रङ्गीन फोटोसहित ।
यो मन्दिरमा कुन भगवान बस्छन्?
पक्कै ठुलै भगवान हुनुपर्छ
नत्र यति धेरै भिखारी
किन जम्मा हुन्थे र यहाँ
अब केही क्षणमा
धर्मभिरुहरुको भीड लाग्नेछ
सडकमा बसेका भिखारीभन्दा
हजारौं गुना भिखारीहरु
छिर्नेछन् मन्दिरमा
गिड्गिडाउनेछन्
आलाप गर्नेछन्
भीख माग्नेछन्
ईश्वर बोल्ने छैन
निरुत्तर भएर फर्किनेछन् र
सडकका ईश्वरलाई गाली गर्नेछन् ।
अहँ, यहाँ कुनै रुख छैन
चराको चिर्बिर छैन
झरना छैन
शीतल बतास छैन,
केही थान कागहरु
मान्छेले फालेको फोहर टिप्दैछन्,
केही थान चमेराहरु
गुजुल्टिएको तारमा झुन्डिएका छन्,
एकाबिहानै
सखारै
झिसमिसेमै
ताराहरु झरिसक्न नपाउँदै
यो सहरमा,
सहरको यो स्तब्ध सडकमा
डरलाग्दो कोलाहल छ ।
-झोराहाट, मोरङ