विराटनगर । मोरङको प्रसिद्ध धार्मिक स्थल सन्सारी माई मन्दिरमा दसैँको तयारी धमाधम भइरहेको छ । फूलपातीको बडाइँका लागि मन्दिर र आसपास क्षेत्रमा सरसफाइ गरिएको छ ।
रंगेली नगरपालिका– ७ मा रहेको मन्दिरमा प्रदेश १ सरकारले तीन वर्षअघि फूलपातीका दिन ‘प्रदेश स्तरीय’ बडाइँ गर्ने निर्णय गरेको थियो ।
मन्दिर व्यवस्थापन समितिले साजसज्जा गरिरहेको छ । समितिले स्वागतद्वार र मञ्च निर्माण गरिरहेको छ । फूलपातीका दिन आयोजना हुने कार्यक्रममा मुख्यमन्त्री, मन्त्री तथा अन्य क्षेत्रका प्रतिनिधिहरुको सहभािगता हुने जनाइएको छ ।
त्यस दिन बिहान ८ बजे मन्दिर परिसरबट नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, तथा विभिन्न समुदायका नृत्य झाँकीसहित राई, लिम्बू, मगर, सन्थाल, उराव तथा झाँगड समुदायले गर्ने लोकनृत्यले आगन्तुकको ध्यान तान्ने गरेको छ ।
उक्त शक्तिपीठमा भारतका विभिन्न स्थानबाट पनि श्रद्धालुहरु आउने गरेका छन् । बितेका दुई वर्ष भने कोरोना महामारीका कारण दसैँमा उति चहलपहल हुन पाएको थिएन ।
यसपटक उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता हुने विश्वास विश्वास गरिएको समितिका सहसचिव सचिव ईश्वर पोख्रेलले बताए । विभिन्न उपसमितिहरु गठन गरेर काम भइरहेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष सञ्जीव श्रेष्ठले बताए ।
विराटनगरबाट २२ किलोमिटर पूर्व चिसाङ खोलाको किनारमा रहेको मन्दिरमा घटस्थापनादेखि विजया दशमीको टीकाका दिनसम्म नियमित पूजापाठ तथा भजन कीर्तनको आयोजना हुने गरेको छ ।
नवरात्रभर १० दिनसम्म मन्दिरभित्र व्राहम्णहरुले चण्डी पाठ परायण समेत गर्ने गर्दैछन् । दसैँबाहेक अरु समयमा पनि भक्तजनहरु पूजापाठ र भाकल गर्न आउने गरेको मन्दिरका आचार्य कृष्णप्रसाद भट्टराईले बताए ।