काठमाडौं । इरानमा हिजाबविरोधी प्रदर्शन चर्कंकै गएको छ । तनाव बढेपछि हिंसात्मक झडपहरु भइरहेका छन् ।

हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । महिलाहरुले लगातार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपहरुमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ ।

यसअघि सरकारले एक सातायता निरन्तर भएका प्रदर्शनमा १७ जनाको मृत्यु भएको दाबी गरेको थियो ।

सामाजिक सञ्जालमा फैलिएको आधिकारिक फुटेजमा सरकार समर्थित जुलुसहरू तितरबितर भएको केही घण्टापछि राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ ।

हिंसा भड्किएपछि सरकारले विभिन्न स्थानमा इन्टरनेट सेवामा रोक लगाएको छ ।

14
Shares
८ आश्विन २०७९, शनिबार ०८:१२