हो
तिमीलाई थाहा थिएन?
यतिन्जेल?
म
नेता हुँ
देशको होनहार
देशको भविष्य
देशको केन्द्र
अनि
जनता मेरा भगवान
जनता मेरा आधार
जनताको पर्यायवाची
जनता मेरा
म जनताको
नेता।
तर
प्रिय
यी सुनाउन मात्र हुन्
चुनाव जित्नको लागि मात्र
धेरै पछि
फेरि
एकान्त औँसीको रात
चिसो हावा
हामी दुई एक भएको बेला
मनको कुरा
तिमीसँग कहाँ लुक्छन् र?
नशामा
म तिमीलाई
कसैले नसुन्ने गरी
भन्न सक्छु
जनता मेरा भर्याङ हुन्
मात्र भर्याङ
म त्यसैगरी नै चढ्छु
पुग्छु
मेरा सपना
बिपनामा चुम्छु
अनि
म किन झर्नु पर्यो?
मैले किन भर्याङ खोज्नु पर्यो?
म किन मूर्ख बन्नु पर्यो?
प्रगतिको शिखरमा पुगेर
को पो फर्किन खोज्छ र?
अनि म
चिन्ता नगर प्रिय
म
माथि बस्दा धेरै कुरा सिकेको छु
भ्रष्टाचारमा पोख्त भएको छु
जोगिन सिकेको छु
आफ्ना जोगाउन सिकेको छु
यीभन्दा महत्वपूर्ण
राम्रो नेताको अभिनय सिकेको छु।
प्रिय
म
चुनावको बेला
आफैंलाई बिर्सेर
एउटा राम्रो नेताको
प्रस्तुति दिँदै हिँड्छु
अनि
अरू दर्शक
म एक्टर
मात्र एक्टर
म हँसाउने
अरू हाँस्ने
म रुवाउने
अरू रुने
म सबको हाइहाइ
म सबको केन्द्र
म उनीहरूमाथि चढ्छु
भनौँ
भर्याङ चढ्छु।
यो संसार भाषाको हो प्रिय
मैले बोल्न सिकेको छु
मैले भाषासँग खेल्न सिकेको छु
मैले भाषामा सपना बुन्न सिकेको छु
मैले भाषाले चिप्लाउन सिकेको छु
मैले भाषाले रुवाइदिन सिकेको छु
मैले भाषाले हँसाइदिन सिकेको छु
मैले भाषाद्वारा मन मुटुमा छिर्न सिकेको छु
मैले इमान्दार नेतालाई पंगु बनाउन सिकेको छु।
अब
किन काम गर्नु पर्यो?
जे गर्छु सत्य, सत्य तिमीलाई भनेको छु।
जे गर्दिनँ, त्यो गर्छु भनेर जनतालाई भनेको छु।
प्रिय
म अहिले पुरै होसमा छु
अलिकति मात्र
तिम्रो प्रेम र नशामा
मेरा कुरा तिमीसँग चुहिएका थिए
आखिर
अरूले जे सुकै भनुन्
म
राजनीतिभन्दा प्रेम
ठुलो मान्दिनँ
त्यसपछि
म
पुरै मौन हुन्छु।
त्यसपछि
……………………..
त्यसपछि
समयले जाऊ भन्नु पूर्व
उनी गइन्
मेरो अनुहार
हँसिलो हुन्छ
अनि जनता जिन्दावाद!