आउ अब एउटा नयाँ पार्टी खोलौं
सुन्दैमा लट्ठिने मीठो कुरा बोलौं

समृद्ध पार्छौं देश भन्ने गफ लगाऔं
हाम्रो पार्टी सबभन्दा माथि पुर्याऔं
कसैलाई अलिकति उचाली दिऔं
कसैलाई माथिबाट खसाली दिऔं
ठूला पद, ठूला ठाउँ खाली गराऔं
खाली ठाउँमा आफ्ना मान्छे भराऔं
इसारामा चल्नेलाई अधिकार दिलाऔं
जतिसक्दो पिउँ अरूलाई पनि पिलाऔं

आउ अब एउटा नयाँ पार्टी खोलौं
कतै अमृत घोलौं कतै विष घोलौं

कुनै एउटा विषयलाई मुद्दा बनाऔं
सडक तताउँ अनि सदन हल्लाऔं
अब साना तिना काम गर्न छाडौं
नयाँ नयाँ भाषण र आश्वासन बाडौं
दुई चार महिनामै भरमार कमाऔं
दुःख नगरौं अब बसी बसी खाऔं
अरूले खाएको सक्दो विरोध गरौं
आफूले पाउँदा केही पनि नछोडौं

आउ अब एउटा नयाँ पार्टी खोलौं
कोही बोल्न नदिऔं आफू मात्रै बोलौं

छिमेकी र सीमानाका कुरा उठाऔं
जसरी पनि जनताको समर्थन जुटाऔं
देश उँभो नलगी अझ उँधै झराऔं
सोझा छन् जनता झन् मूर्ख बनाऔं
फाइदा हुन्छ भने त देशै टुक्य्राऔं
स्वाभिमान त्यो छोड्दिउँ शिर झुकाऔं
नारा शान्तिको, तर अशान्ति मच्चाऔं
विरोध गर्नेलाई कुनातिर थन्क्याऔं

आउ अब एउटा नयाँ पार्टी खोलौं
सत्य, साँचो हैन सधैं झुट्टा बोलौं

-भक्तपुर, हाल: अमेरिका

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु