विराटनगर । आमाको हत्या गरेको अभियोगमा हलिउड अभिनेता रायन ग्रान्थमलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेटफ्लिक्सको चर्चित शो ‘रिवरडेल’ मा काम गरेका ग्रान्थमले ६ महिनाअघि अदालतसमक्ष हत्या गरेको स्वीकारेका थिए ।

अदालतको आदेशअनुसार रायनले अब जीवनभरी बन्दुक चलाउन सक्दैनन् । उनी १४ वर्ष जेल बसेपछि पनि ‘पेरोल’ मा रिहा हुन सक्ने छैनन् । क्यानाडाको भ्यान्कुभरस्थित ब्रिटिश कोलम्बिया सर्वोच्च अदालतले रयान ग्रानथमलाई सजाय सुनाएको हो ।

मार्च २०२० मा रायनले आफ्नी ६४ वर्षकी आमालाई गोली हानेर हत्या गरेका थिए । उनकी आमा बारबरा वेट पियानो बनाइरहेका बेला रायनले उनलाई गोली हानेका थिए ।

सिबिसीको रिपोर्ट अनुसार न्यायाधीस क्याथलिन केरले अदालतको निर्णय सुनाउँदै यो दुर्घटनालाई दुःखद, मन तोडिदिने र जीवन बर्बाद पारिदिने घटना बताए ।

रायनले आमालाई गोली हानेको भिडियोसमेत बनाएका थिए । गो प्रो क्यामरामा बनाइएको यो भिडियोमा आफ्नी आमा बारबरा वेटको मृत शरीर नजिकै उभिएर अभिनेताले आफ्नी आमाको हत्या गरेको स्वीकारेका थिए ।

भिडियोमा उनले भनेका थिए, ‘मैले उनको टाउको पछाडि गोली हानेको हुँ । पछि उनलाई थाहा भएको थियो कि गोली मैले हानेको थिएँ ।’ प्रहरीका अनुसार आमाको हत्या गरेपछि रायनले बियर र गाँजा किनेका थिए । त्यसपछि उनले मोलोतोव ककटेल बनाउने कोसिस गरे र नेटफ्लिक्स हेरे ।

यति गरेपछि उनले आफ्नी आमाको शवलाई एउटा कपडाले ढाकेर सुत्न गए । भोलिपल्ट उठेपछि उनले आफ्नी आमाको शवको चारैतिर मैन बत्ती बाले । त्यसपछि उनी दोस्रो हत्या गर्न निस्किएका थिए ।

त्यसपछि रयान ग्रानथम आफ्नो गाडीमा तीन लोडेड गन, मोलोटोव ककटेल, गोलाबारुद, क्याम्पिङको सामान र ओटावाको रिडो कटेजको म्याप राखेका थिए ।

उनको योजना क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई मार्नु रहेको अनुसन्धानबाट खुलेको छ । जस्टिन र उनको परिवारे रिडो कटेजमा बस्छन् । रायनले प्रहरीसमक्ष आफू प्रधानमन्त्रीको हत्या गर्न निस्किएको स्वीकार गरेका थिए । यसबारे उनले आफ्नो डायरीमा पनि लेखेका थिए ।

रयान केही बेर ट्रुडोको घर भएतिर घुमेका थिए । त्यसपछि उनले आफ्नो स्कूल साइमन फ्रेजर युनिभर्सिटीमा सामूहिक गोली चलाउने बारे पनि सोचे । तर उनले यीमध्ये केही पनि गरेनन् र सिधै भ्यान्कुभर प्रहरीमा गएर आत्मसमर्पण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

14
Shares
७ आश्विन २०७९, शुक्रबार २३:०७