काठमाडौं । केही दिनयता तीव्र रुपमा फैलिरहेको डेंगुका कारण देशभर गरी २७ जनाकोमृत्यु भएको छ । संक्रमितको संख्या शुक्रबारसम्म २१ हजारभन्दा बढी पुगेको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक दुई सयको हाराहारीमा डेंगुका बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालमा पुग्ने अधिकांश बिरामी गम्भीर स्वास्थ्य समस्या लिएर आउने अस्पतालका इमर्जेन्सीका प्रमुख लिलानाथ भण्डारीले बताए ।

डेंगुका बिरामीमा पहिलेको वर्षमा देखिएको डेंगुका लक्षणभन्दा यो वर्ष कडा खालका लक्षण देखिने गरेको उनले बताए । आकस्मिक विभागमा पुग्ने बिरामीमा बेहोस हुने र रक्तस्राव हुनेजस्ता समस्या बढी देखिने भण्डारीले जनाए ।

सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले पनि अस्पतालमा आउने अधिकांश बिरामी भएको पाँच–छ दिनपछि गम्भीर स्वास्थ्य समस्या लिएर आउनेगरेको बताए ।

चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टाअघि सक्रिय हुने हुँदा सचेत रहनुपर्छ ।

डा. पुनले लामखुट्टे विशेषगरी काठमाडौं उपत्यकाको घर–घरमा फैलिइरहेको र लामखुट्टे नष्ट भएपछि मात्र नियन्त्रणमा आउने बताए ।

यसैबीच, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा. चुमनलाल दासले महाशाखाले स्वास्थ्य मन्त्रालयमा डेंगु प्रकोप घोषणा गर्ने सम्बन्धमा प्रस्ताव पठाइसकेको जानकारी बताएका छन् ।

पछिल्लो समय तीव्र गतिमा डेंगु सङ्क्रमण बढ्दैगएकाले डेंगु नियन्त्रण बाहिर जाने भन्दै स्वास्थ्य विज्ञहरूले डेंगुलाई महामारी घोषणा गर्न सुझाव दिंदै आएका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा २१ हजार ३५२ जनामा डेंगु पुष्टि हुनुकासाथै २७ जनाको मृत्यु भइसकेको छ ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १६ हजार २३६ जनामा भएको छ । यस्तै, लुम्बिनीमा दुई हजार ७४३, प्रदेश १ मा ५८५, सुदूरपश्चिममा ७५८, गण्डकीमा ४९६, मधेश प्रदेशमा ३०५ र कर्णाली प्रदेशमा २२९ जनामा डेंगु पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु