काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीका रुपमा खटिन इच्छुक व्यक्तिहरुको मागभन्दा बढी आवेदन परेको छ । प्रदेश १ बाट म्यादी प्रहरीका लागि ३५ हजार ८ सय २६, मधेस प्रदेशबाट ६६ हजार ८ सय ८४ वटा आवेदन परेको प्रहरीले जनाएको छ ।

निर्वाचनका बेला मुख्य अनि अघि र पछिको अवधिमा समेत गरी ४० दिन खट्ने गरी म्यादी प्रहरीका लागि आवेदन माग गरिएको थियो ।

देशका सातैवटा प्रदेशमा सरकारले माग गरेको भन्दा दोब्बर बढी आवेदन परेको जनाइएको छ ।

काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले बिहीबार साँझसम्म सात प्रदेश र उपत्यकाबाट २ लाख ३२ हजार ८८ जनाको आवेदन आएको जनाएका छन् ।

उक्त संख्या माग गरेभन्दा १ लाख १७ हजार ८८ बढी हो । आवेदन दिनेहरुमा पुरुषको संख्या १ लाख ७१ हजार ७ सय १८ र महिलाको संख्या ६० हजार ३ सय ७० छ ।

२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन सुरक्षामा १ लाख म्यादी माग गरिएकामा करिब ३ लाखले आवेदन दिएका थिए ।

डीआईजी राईका अनुसार प्रदेश १ बाट ३५ हजार ८ सय २६, मधेस प्रदेशबाट ६६ हजार ८ सय ८४, वाग्मतीबाट २१ हजार १ सय ६, गण्डकीबाट १५ हजार ९ सय ९, लुम्बिनीबाट ४३ हजार ९ सय ५, कर्णालीबाट १४ हजार ९ सय ३६, सुदूरपश्चिमबाट २४ हजार ४ सय ५० र काठमाडौं उपत्यकाबाट ९ हजार ७२ जनाको आवेदन परेको छ ।

कुन प्रदेशमा कति म्यादी खटाउने भन्नेमा सम्बन्धित प्रदेशअन्तर्गत जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्र तथा सुरक्षा चुनौती विश्लेषण गरेर शुक्रबार नै कोटा निर्धारण गरी पठाइनेछ । सोही आधारमा तोकिएको मापदण्डअनुसार छनोट प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेशगत रूपमा सबैभन्दा बढी आवेदन मधेस प्रदेश र सबैभन्दा कम कर्णालीमा प्रदेशमा परेको छ । दरखास्त दिने सबैलाई शुक्रबार सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

आवेदकहरु मध्येबाट असोज ९ देखि १४ सम्म भर्ना छनोट गरिने भएको छ । असोज १५ देखि २४ सम्म दसैँ विदा हुनेछ । प्रहरीका अनुसार असोज २५ मा नतिजा प्रकाशित गरिनेछ । यसरी छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम दिएर कात्तिक ९ बाट चुनावी सुरक्षामा परिचालन गरिने भएको छ ।

मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुने तय भइसकेको छ । निर्वाचनमा करिब ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने गरी गृह मन्त्रालयले निर्वाचन सुरक्षा कार्ययोजना बनाएको छ ।

तिनमा करिब ७५ हजार सेना, ६५ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका करिब १ हजार ५ सय तथा १ लाख १५ हजार म्यादी परिचालित हुनेछन् ।

छनोट भएका म्यादी प्रहरीले ४० दिनको तलब, भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।

निर्वाचनमा मतदान स्थल र मतदान केन्द्रको सुरक्षामा प्रहरी र म्यादी तथा बाहिरी सुरक्षा सेना र सशस्त्र प्रहरी बल परिचालन गर्ने गरी सुरक्षा कार्ययोजना बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु