विराटनगर । मावन बेचविखन तथा ओसारपसार मुद्दाका ३ जना फरार प्रतिवादी मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–६ का भरत यादव, धरेन झा र बेलबारी–९ की तिलोदेवी पण्डित (कुम्हाल) रहेका छन् ।
मावन बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत मोरङले २०७६ साल जेठ १५ गते तीनै जनालाई दोषी ठहर गरेको हो । अदालतले यादवलाई ११ महिना २७ दिन, झालााई ५ महिना २७ दिन र पण्डितलाई ५ महिना ५ दिन कैद सजायको फैसला गरेको हो ।
अदालतले दोषी ठहर गरे पनि उनीहरु पक्राउ परेका थिएनन् । प्रहरीले पक्राउ गरेर पेस गरेपछि अदालतले तीनै जनालाई कैद सजाय भुक्तानका लागि बिहीबार कारागार चलान गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।