विराटनगर । बेलैमा उचित उपचार पाउन सके डेंगी संक्रमितलाई कुनै जोखिम नहुने चिकित्सकले बताएका छन् । सुरुमै चिकित्सकको सम्पर्कमा गएर उपचार गरे अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति नआउने उनीहरुको भनाइ छ ।
उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्।
डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे बिरामीको ज्यान जान सक्ने चेतावनी दिइएको छ । डेंगीको आशंका हुनेबित्तिकै चिकित्सक निगरानीमा बस्नुपर्ने जनाइएको छ ।
काठमाडौंको वीर अस्पतालमा बुधबार एक ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको थियो । कुनै जटिल दीर्घरोग नभएकी उनलाई उपचारका लागि ढिलो अस्पताल पुर्याइएकाले बचाउन नसकिएको अस्पतालकी निमित्त निर्देशक डा. अनुपमा कार्कीको भनाइ छ ।
समयमै उपचार पाए डेंगीबाट जटिल दीर्घरोग नभएका व्यक्तिको मृत्यु हुने स्थिति नरहने डा. कार्कीले बताइन् ।
डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन चिकित्सकहरू सुझाव दिन्छन् ।
वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन् ।