सर्वसाधारणमा सुरक्षाको प्रत्याभूति दिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र सभ्य बनाउन योजना बनाएर लागू गरिएको मोरङ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले सुरक्षित तवरले चाडपर्व मनाउने वातावरण सृजना गर्ने दायित्व प्रहरीको भएको बताए । नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधन तथा यात्रुको सुरक्षा र उपभोक्ताको अधिकारलाई मध्यनजर गरेर चाडपर्व लक्षित सुरक्षा योजना तयार पारिएको उनको भनाइ छ ।मादक पदार्थ सेवन (मापसे) गरेर हुन सक्ने उसृङ्खल गतिविधि, लोकमार्ग तथा सहायक मार्गहरुमा अवाञ्छित क्रियाकलापलगायत आपराधिक गतिविधि नियन्त्रण प्रहरीको प्राथमिकतामा परेको छ ।
अति विशिष्ट, विशिष्ट व्यक्ति तथा उनीहरुको निवास, सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, बैंक एवं वित्तीय संस्था, बजार, पसल लगायत सार्वजनिकस्थलमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाइएको कोइरालाले बताए ।उनका अनुसार भारतसँगको खुला सीमाको फाइदा उठाउँदै हुनसक्ने चोरी, तस्करी लगायत विभिन्न अपराधिक गतिविधिका साथै नजिकिँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सुरक्षा सतर्कता बढाइएको छ ।
निर्वाचन लक्षित घरदैलो, भेटघाट, छलफलसमेतका राजनीतिक कार्यक्रमलाई मध्यनजर गरेर सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जानकारी उनले दिए ।
कोइरालाका अनुसार बैंक, वित्तीय संस्था एवं आर्थिक गतिविधि हुने ठाउँ र महत्वपूर्ण प्रतिष्ठानहरुमा प्रहरीले २४ घण्टानै निगरानी बढाउन थालेको छ । सुनचाँदी पसल, सरकारी तथा गैर सरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिकस्थल र पसलहरुमा प्रहरी तैनाथ गरिएको छ ।
चोरी, डकैती, लुटपाट र गुण्डागर्दी चन्दा असुली, ठगी हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मजवुत बनाइएको प्रहरीले जनाएको छ ।
मोरङमा चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १ हजार २ सय ९१ जना प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजवुत बनाउन थप प्रहरी जनशक्ति माथिल्लो कार्यालयबाट माग गरिएको छ । एसपी कोइरालाले सम्भावित र विगतमा भएका घटना एवं अपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारिएको जानकारी दिए ।
उनका अनुसार सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयका लागि सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिएको छ । प्रहरीको पिकेट, सवारी गस्ती, मोबाइल, मोटरसाइकल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।
कोइरालाका अनुसार धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिर लगायत भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थानको सुरक्षामा विशेष ध्यान दिइएको छ । भीडभाडमा हुने चोरी, डकैती र लुटपाटका घटना, मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रण लगायतमा पनि प्रहरीको ध्यान जान थालेको छ ।
चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ । त्यस्तै जुवा, तास लगायत गैरकानुनी खेलहरु र शान्ति भड्काउने समूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने उनले बताए । उनका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग र अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमजोरी हुन नदिने तथा होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ ।
शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रणमा लिन थालिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक स्थलहरुमा हो–हल्ला एवं झै–झगडा गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
सवारी साधनमाथि आकस्मिक चेकजाँच सुरु गरिएको छ । अन्य सुरक्षा निकायसँग समन्वय गरेर चाडपर्वका बेला हुनसक्ने विभिन्न घटनाबाट बच्न सबैलाई सजग गराउँदै सर्तकता अपनाउन आग्रह गरिएको एसपी कोइराला बताउँछन् । सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’ सँगको समन्वय र सहकार्यलाई पनि प्रहरीले महत्व दिएको छ ।
महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकविरुद्ध हुनसक्ने अपराधको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिने भएको छ । चाडपर्वमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसँग समन्वय गरेर अत्यावश्यक सेवाका साधनहरु एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिने एसपी कोइरालाले बताए ।
कुनै पनि घटनामा परेर घाइते भएकाको उपचारका लागि कोसी लगायत सबै अस्पताललाई २४ घण्टानै तयारी अवस्थामा राख्न प्रजिअसँग समन्वय भइसकेको उनको भनाइ छ । कोइरालाका अनुसार विष्फोटक पदार्थलाई निष्कृय पार्न विशेष टोलीका लागि नेपाली सेनासँग समन्वय गरिएको छ ।