श्वेत रूप त
सन्यास हो
कालोको अर्थ
संघर्ष
स्वयम्
आकाश बन्नुको
भ्रममा
सेतो बादल
मात्र
आकाशको पर्दामा
देखिने एउटा
छल हो
बादल भन्नु नै
रूप बदलिरहने
धरासायी अस्तित्वमा
विस्थापित आँखाको
तरङ्गित
रमिता हो
स्वयम्
न कहिल्यै
स्थापित बन्न सक्छ
आकाशझैँ अटल
सेतो बादल
सेतै भएर
निश्चल
विश्वासमा।
ऊ दर्बिलो बन्न त
उसले
क्षणिक मोह बिर्सिएर
गर्जन साथ मडारिनै पर्छ
मौसमको प्रभावमा
उसैको वसमा
रूप बदल्नै पर्छ
गर्जिएर वर्षिनु
र कालो मेघ बनेर
आफूलाई उत्तेजित बनाउँदै धर्तीमा ओर्लिनै पर्छ
जहाँ उष्णता छ
उसको प्यास मेट्न।
सेतो बादल बनिरहन नै
कहाँ पुग्छ उसलाई
कैयौँ बग्नु छ
अविरल
खोला बनेर
कालो मैलो भेल बन्दै
वर्षिनु छ
पृथ्वी
हराभरा तुल्याउनु छ
उसको सर्वोकृष्ट कर्म
संसारको भाग्य बन्नु हो,
महाकाशमा
वास गरेर
पृथ्वीतलमा
कैयौँ प्राणाीलाई
बसोवास गराउनु हो।
–विराटनगर