विराटनगर । कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवारीका लागि आफ्नो पार्टीको दाबी रहने बताएका छन् । एएमजी टाइम्ससँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

२०७४ को निर्वाचनमा तत्कालीन एमाले र माआवादीको गठबन्धनसँग प्रतिस्पर्धा गरेर प्रत्यक्षतर्फ पराजित भए पनि समानुपातिकमा कांग्रेसको मत उल्लेख्य रहेको उनको भनाइ छ।

‘सोही मतको आधारमा, क्षेत्रमा कांग्रेसको पक्षमा जनलहर, सांगठनिक संरचनामा कांग्रेसको उपस्थिति बलियो छ’ उनले भने, ‘यसलाई गठबन्धनले नजरअन्दाज गर्नु हुँदैन ।’

‘सो क्षेत्र कांग्रेसको पक्षमा सुरक्षित होस् भन्ने चाहन्छु। क्षेत्र आफ्नो पक्षमा आएपछि पार्टीले नै उम्मेदवार टुंगो लगाउनेछ’ उनले भने । आफ्नो उम्मेदवारीबारे तत्काल नखुलेका आचार्यले अहिले नै उम्मेदवार को हुनेभन्दा पनि निर्वाचन क्षेत्रलाई पार्टीले अपनत्व दिनुपर्नेमा जोड दिए ।

राष्ट्रपतिको कदम संविधानविपरीत

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले मुलुकको ‘ठूलो हिस्सालाई विभाजित गरेको’ प्रतिक्रिया दिएका छन् ।

संसदले दुई पटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु दुःखद भएको बताए। ‘राष्ट्रपतिले नभएको अधिकार प्रयोग गरेको भन्दै आचार्यले सार्वभौम जनताबाट स्थापित संसदले पारित गरेको कुरालाई पन्छाउने अधिकार नभएको बताए ।

विगतमा नागरिकता अध्यादेश २४ घण्टाभित्र पारित गर्न सक्ने अनि अहिले त्यही विषयलाई प्रमाणीकरण गर्न नखोज्नुले संविधानको पालना नगरेको देखिने आचार्यको भनाइ छ ।

‘राष्ट्रपति संविधानविपरीत गएको अनुभूति भएको छ’ यो उहाँ स्वयं र मुलुकका लागि राम्रो संकेत होइन’ उनले भने ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर देशलाई अप्ठ्यारो अवस्थामा धकेल्न खोजेको बताउँदै आचार्यले भने, ‘संसदले कानुन बनाएर पठाएपछि स्वतः प्रमाणीकरण हुनुपर्छ।’

21
Shares
६ आश्विन २०७९, बिहीबार १६:१८