विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूका उद्योग, व्यवसाय क्षेत्रमा रोजगारी दिलाउने उद्देश्यले विराटनगरमा ‘रोजगार मेला’ आयोजना हुने भएको छ । मेला कात्तिक १८ र १९ गते जैन भवन परिसरमा सञ्चालन हुने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ, र करुणा फाउन्डेसन नेपालले बिहीबार पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी दिएका हुन् ।

मेला आयोजना गर्ने सिलसिलामा गत शनिबार रोजगारदातासँग परामर्श गरिएको थियो । आयोजकमध्ये द लेप्रोसी मिसन नेपाल, फाउन्ड परियोजनाका प्रतिनिधि विपिन दासका अनुसार यसअघि काठमाडौंमा मेला आयोजना गरिएको थियो ।

प्रदेश १ मा भने पहिलोपटक यस्तो मेला आयोजना गर्न लागिएको उनले बताए । मेलामा प्रदेश १ का झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, इलाम र पाँचथर गरी आठ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरू मध्येबाट रोजगारदाताले छनोट गर्ने छन् । त्यसका तीन सय जनाभन्दा बढीको व्यक्तिगत विवरण संकलन गरिएको उनले जनाए ।

‘मेला सहभागिताका लागि यस प्रदेशका ती आठ जिल्लाबाट ७ सय २९ जनाको नाम सूचीकृत भएको थियो तर त्यसमध्ये योग्यता र क्षमताका आधारमा रोजगारीका लागि योग्य तीन सयजनाको बायोडाटा तयार पारेका छौं,’ उनले भने ।

रोजगार मेलामा सहभागी हुने अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी, काम गर्ने तरिका र रोजगारीको दिगोपनाका लागि अभिमूखीकरण तालिम समेत दिएको दासले बताए ।

रोजगारीमा जानका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायक सामग्रीसमेत परियोजनाले प्रदान गरी काम गर्न योग्य बनाएर मात्रै मेलामा सहभागी गराउने उनको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले अपाङ्गता भएका व्यक्तिलाई रोजगार दिने उद्देश्यले आयोजित मेलामा रोजगारदाता र श्रमिक सहभागी हुने बताए ।

अपाङ्गताअनुकूल वातावरण भएमा सक्षमताका साथ आफ्नो क्षमता र योग्यता प्रस्तुत गरी समाजमा आफ्नो पहिचान स्थापित गर्नुका साथै राष्ट्रिय आय वृद्धि गर्न सक्षम हुन सक्ने उनको भनाइ छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार तथा स्वरोजगार बनाएर राष्ट्रिय उत्पादकत्व वृद्धि गर्न सकिने राष्ट्रिय अपाङ्गता महासंघ, प्रदेश १ का सरोज नेपालीले बताए। काठमाडौंमा भएको मेलामा २७ जनाले रोजगारी पाएको उनले बताए ।

‘योग्य र दक्ष अपाङ्गता भएका व्यक्तिहरु र यहाँका रोजगारदाताहरु बीच मेलाको माध्यमले साक्षात्कार गराएर रोजगारी प्रदान गर्ने वातावरण निर्माण गर्न लागेका छौं,’ उनले भने ।

औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी दिनुपर्ने भावनाको विकास गर्न पनि मेला सार्थक हुने राउतले विश्वास व्यक्त गरे ।

परियोजनाले हालसम्ममा यस क्षेत्रका ७२ जनालाई विभिन्न क्षेत्रका रोजगारदातासँग सहकार्य गरेर रोजगारी प्रदान गर्नुका साथै बीउ पूँजी दिएर १२५ जनालाई स्वरोजगार बनाएको जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी प्रदान गर्न मेलामा यहाँका ७५० रोजगारदाताहरुलाई सूचिकृत गरिएको दासले बताए । सूचीकृत रोजगारदातामध्ये २५ जनासम्मलाई रोजगारी दिने रोजगारदातालाई मेलामा सहभागी हुने र योग्य व्यक्तिहलाई रोजगारी प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।

मेलाका लागि सामाजिक विकास मन्त्रालय प्रदेश १ को समन्वयमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र विराट व्यापार संघले सहयोग गरेका छन् ।

अपाङता भएका ९० प्रतिशत व्यक्ति रोजगारविहीन अवस्थामा रहेकाले उनीहरूलाई रोजगारी दिने उद्देश्यले आयोजना गर्न लागिएको बताइएको छ । मेलाबाट तीन सय ५० भन्दा बढीले रोजगारी पाउने विश्वास गरिएको छ ।

329
Shares
६ आश्विन २०७९, बिहीबार १५:४६