त्यो दिनको प्रतीक्षा छ
जब प्रेमको पहिरो खस्नेछ
थाम्ने प्रयासमा तल्लीन हुनेछु म
अनि तयार हुनेछु सँगसँगै बग्न
तिम्रा औडाहाका बिस्कुन
केलाइ केलाइ मिहिन रुपमा
तिम्रो मायाको प्रतिशतमा
म पनि थप्नेछु केही अंकहरु
मायाको सागरमा डुबेपछि
बौद्धिकताको के अर्थ हुन्छ र!
रहर झाँगिएर तिम्रो सामु
नतमस्तक म बनेको बेला
हुने छैन उन्माद तर सायद
हराउँदै जानेछ मेरो होस्
र, यस्तो बेला
हुने छैन विजयको एकोहोरो गौरव
हुने छैन कोही पराजित
दुबैको जितको उल्लासमा
झरीजस्तै बर्षने अमृतरुपी रसहरु पिएर
नयाँ उमङ्ग अंकुरित हुनेछ पक्कै
पीडा र कुरुपतालाई विस्थापित गर्नेछ
खुसीका स्वप्नील रंगहरुले
हो, म त्यही दिनको प्रतीक्षामा छु
जब हुनेछ तिम्रो र मेरो भेट
प्रेम, श्रद्धा र मादक रहरहरु विनिमय हुनेछ
अनि यो समर्पणमा संसार हामीसँगै एकाकार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु