राजु श्रेष्ठ
विराटनगर । उमेर बृद्धिसँगै ज्येष्ठ नागरिकमा देखापर्ने डिमेन्सिया अल्जाइमर्स (बिर्सने रोग) ले सताउन थाल्छ । स्नायु प्रणालीलाई असर गर्ने यो समस्याले धेरैजना पिरोलिएका छन् ।
यस्तो समस्या बृद्धावस्थामा मात्र होइन अरु उमेरका व्यक्तिलाई पनि हुन सक्छ । बढीजसो उमेर वृद्धिसँगै यो देखिन थाल्छ । यसबाट बच्न सर्वसाधारणमा सचेतना आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।
विराटनगरमा आयोजित बिर्सने रोगसम्बन्धी सचेतना कार्यक्रममा सहभागी भएका विज्ञहरुले यस्तो बताएका हुन् । नेपाल ग्रामीण विकास समाज केन्द्र र ज्येष्ठ नागरिक ज्येष्ठ नागरिक महासंघ प्रदेश १ को संयुक्त आयोजनामा मनाइएको  दिवसमा सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिकका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाका प्रतिनिधि, सरोकारवालाहरु अनि ज्येष्ठ नागरिकहरु गरी १०० भन्दा बढीको सहभागिता थियो । विराटनगर ९ भानु टोलमा नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडिएससी) को सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले उद्घाटन गरेका थिए । त्यस अवसरमा विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. विशाल देवले अल्जाइमर्स डिमेन्सिया स्नायु प्रणालीमाहुने गम्भीर प्रकारको रोग रहेको बताए ।
यो रोग बृद्धावस्थाका मानिसलाई मात्र नभई जोसुकैलाई पनि लाग्न सक्ने जानकारी गराउँदै उमेर बृद्धिसँगै अधिकांश व्यक्तिमा देखापर्ने अल्जाइमर्स रोगले विभिन्न १० चरण पार गरेपछि मानसिकरुपमा विक्षिप्त सम्म बनाउन सक्ने जोखिम हुने बताए ।
ज्येष्ठ नागरिकहरुलाई डिमेन्सिया अल्जाइमर्स रोग लाग्ने कारण त्यसका लक्षण र उपचार तथा रोकथाम पद्धतिका विषयमा जानकारी दिएका थिए ।
उनले रोगबाट बच्न औषधि सेवन गर्नुकासाथै जेष्ठ नागरिकहरुले तनावरहित, सक्रिय र चलायमान जीवन पद्दति अपनाउन सुझाव दिए । एकपटक यो रोग लागेपछि निको नहुने जानकारी दिंदै उनले यो रोगबाट बच्न जानकारी र सचेतना नै महत्वपूर्ण रहेको पनि बताए ।
स्वास्थ्य मन्त्री यादवले बिर्सिने रोगबाट जोगिन आहार, बिहार र व्याममा बिशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए । केन्द्रका सभापति मणिकुमार अर्ज्यालले एनआरडीएससीले अल्जाइमर्स रोगबाट विशेषगरी ज्येष्ठ नागरीकहरु बढी प्रभावित हुने गरेकाले सेचतना कार्यक्रम आयोजना गरिएको बताए ।
आफ्नो संस्थाले ज्येष्ठ नागरिक लक्षित दिवा सेवा, स्वास्थ्य उपचार लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए । सन् १९९४ देखि हरेक वर्ष सेप्टेम्बर २१ का दिन यो दिवस मनाइँदै आइएको छ ।
एलोइस अलल्जाइमर्स नामका व्यक्तिले ११४ वर्ष पहिले यो रोग पत्ता लगाएका थिए । अल्जाइमर्स मानसिक क्षमतामा ह्रास भएर व्यक्तिको स्मरणशक्ति, चिन्तन, वरिपरि भइरहेका गतिविधिहरू प्रतिको जागरूकता, मनन तथा व्यवहारमा कमी हुँदै जाने रोग हो ।
प्रायःजसो ६० वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी रहने जनाइएको छ । कार्यक्रममा नेरुडे लघुवित्तका अध्यक्ष डा. भेषप्रसाद धमला सहित जेष्ठ नागरिकहरुको सहभागिता थियो ।
कार्यक्रमका सहभागी जेष्ठ नागरिकहरुले अल्जाइमर्सका विषयमा आफूले भोगेका अनुभवहरु आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु