तीन वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले एक करोड दिराम बराबरको चिठ्ठा जितेका हुन् ।
त्यहाँको चर्चित मजुज चिठ्ठामा उनले जितेको रकम नेपाली करिब ३५ करोड रुपैयाँ हुन्छ ।त्यहाँको ‘गल्फ न्यूज’ अनुसार माजुजले साप्ताहिक रूपमा खोलिने उक्त चिठ्ठा भरतले दुई वर्षदेखि नियमित किन्दै आएका थिए । यसपटक भने उनलाई भाग्यले साथ दियो ।
चिठ्ठाको नतिजा टेलिभिजनमा प्रत्यक्ष्य हेरिरहँदा आफ्नो नम्बर घोषणा गरिएपछि रातभरि निद्रा नलागेको प्रतिक्रिया उनले दिएका छन् ।जितेको पैसाले आफ्नो ऋण चुक्ता गर्ने अनि परिवारको सुविधाका लागि उपयोग गर्ने उनले बताएका छन् ।
रकम आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि खर्च गर्ने योजना बनाएका छन् । ब्रेन ट्युमरपछि पक्षाघात भएका भाइको शल्यक्रियाका लागि पनि उनले सहयोग गर्ने भएका छन् ।
मजुजका प्रमुख कार्यकारी अधिकृत फरीद सामजीले चिठ्ठा जित्ने आशामा धेरै नेपालीहरु लटरीमा सहभागी हुने उल्लेख गर्दै भरतको जितले नेपाली समुदायमा छाएको त्यहाँका सञ्चार माध्यमलाई बताएका छन् ।