यो चित्तको भित्तो,
सानाठूला कैयौं वज्रपातहरुले
ठोक्किएर अझ मजबुत भएको छ।
सामाजिक तिरष्कारले नहल्लिएको
भित्री बाहिरीको विभेदले नआत्तिएको
सत्ताको तिरले नछेडिएको
अझ भनौं
दुनियाँको भीडमा
फगत एक्लो हुँदासम्म
पटक्कै विचलित नभएको यो चित्त ।
कुनै आँधी तुफानले पनि
पटक्कै नलडाएको, नतछारेको
बाढीले कटान गर्न नसकेको यो चित्तको भित्तो
अब त
सपनाहरुको देशमा छ
रमाइलो परिवेशमा छ
हरपल उचाइका भर्याङ
उक्लिएको अनुभवमा छ
मन उसै उसै प्रसन्न छ ।
पीडाका ईंटाहरु थुपारेर
आँसुले चोटको मसला मुछेर
बनाएको यो भित्तो
मजबुत छ ।
त्यसैले
भत्किजाँदैन यो कुनै वज्रपातले
तिमी तिम्रो कोसिस नछोड
तिम्रो प्रहारले अझ बलियो बन्ने छ ।
–गान्तोक, सिक्किम