इजलासको आदेशपछि ढकाललाई कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
‘पछि ठहरेबमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा निज प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नू,’ आदेशमा उल्लेख छ ।जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो । वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएपछि ढकाललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो ।
१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप उनीमाथि छ । बालक विराटनगर महानगरपालिका–१२ मा अभिभावकसँग बस्दै आएका थिए ।पीडित परिवारले किटानी जाहेरी दिएपछि गत भदौ १६ गते पक्राउ गरेर प्रहरीले ढकालमाथि अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै ढकाललाई प्रतिवादी बनाएर मंगलबार अदालतमा मुद्दा दायर गरेको हो । ढकाल एजुकेसन हेल्पलाइन मोरङका अध्यक्ष पनि हुन् ।