काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्ला चन्दननाथ नगरपालिकाका पञ्जीकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध बुधबार विशेष अदालत काठमाडौं मुद्दा दायर भएको हो ।

भण्डारीले आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्ने थियो ।

तर, उनले कार्यालयको नामबाट बैंकलाई पत्र लेखी दस्तखत गरी २० लाख ७८ हजार ६ सय रुपैयाँ आफ्नो र आफ्नो नाबालक छोराको खातामा जम्मा गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ ।

भण्डारीले व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको आरोपसहित २० लाख ७८ हजार ६ सय रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजायको माग गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु