विराटनगर । जिल्ला कारागार मोरङका एक कैदीको बुधबार मृत्यु भएको छ । लागूऔषध मुद्दामा दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ४९ वर्षीय कुलबहादुर सार्कीको मृत्यु भएको हो ।

निमित्त जेलर तुलसीराम भगतका अनुसार दुवै खुट्टा सुन्निने, ज्वरो आउने र मटुको धड्कन बढ्नेजस्ता समस्या उनमा थियो । उनलाई उपचारका लागि मंगलबार कोसी अस्पताल भर्ना गरिएको थियो ।

यसअघि पनि बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यस बेला स्वास्थ्यमा सुधार भएर फर्काइएको थियो । शव अस्पतालमा राखिएको छ । परिवारका सदस्य सम्पर्कमा आइसकेपछि शव जिम्मा लगाउने प्रक्रिया अघि बढाउने तयारी भएको भगतले बताए ।

उनले २०७८ फागुन २६ गतेदेखि कैद भुक्तान गरिरहेको कारागारको रेकर्डमा छ । जरिवाना बुझाउँदा २०८० असार ४ गते सजाय भुक्तान गरेर उनी छुट्ने थिए । बुझाउन नसक्दा भदौ ११ गतेसम्म कारागारमै बस्नुपर्ने हुन्थ्यो ।

लागूऔषध मुद्दामा सार्कीलाई जिल्ला अदालत मोरङले २०७६ भदौ ८ गते १ वर्ष ६ महिना कैद र २० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो । फरार रहेका उनलाई फैसलाको दुई वर्षपछि प्रहरीले पक्राउ गरेको थियो ।
21
Shares
५ आश्विन २०७९, बुधबार १५:४५