उदयपुरमा एकै परिवारका तीन जनाको हत्या घटनामा संलग्नलाई पक्राउ गर्न सफल प्रहरी सहायक हवल्दार राजकुमार बुढाथोकी भदौ महिनाको सर्वोत्कृष्ट घोषित भएका छन् ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत बुढाथोकीलाई प्रदेश १ प्रहरी कार्यालयले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएका बुढाथोकीले भदौ १७ गते बेलका नगरपालिका-७ गोवाटारस्थित सुनसान जंगलभित्र पर्ने वाबिङ खोलामा भएको सामूहिक हत्या प्रकरणमा सफल अनुसन्धान गरेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

बेलका-७ का राजकुमार बस्नेत, उनकी श्रीमती सरिता बस्नेत र छोरा सुजन बस्नेतलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय ४३ वर्षीय नरबहादुर बस्नेत पक्राउ परेका थिए ।

हत्यापछि फरार रहेका बस्नेतलाई बुढाथोकीको नेतृत्वमा रहेको प्रहरी टोलीले बेलका-६ बरबोटेबाट पक्राउ गरेको थियो ।

घटनामा प्रयोग गरेको खुकुरी हातमा बोकेर जंगलको बाटो हुँदै लुकिछिपी भाग्दै गरेको अवस्थामा उनलाई बुढाथोकीले पक्राउ गरेका थिए ।

अपराध अनुसन्धानमा प्रशंसनीय कार्य गरेकोले प्रहरी चौकी घुस्की, सुनसरी दरबन्दी भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत बुढाथोकीलाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको एसपी राईले जानकारी दिए ।

प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउने र सम्पादित कार्यको उचित मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयले प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना एक जनालाई सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्सप्रिन्ट प्रदेश १ प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका ‘क’ स्तरसम्मका इलाका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राखिँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु